नेपाल परिवार नियोजन संघको साधारण सभा सम्पन्न

नेपाल परिवार नियोजन संघको साधारण सभा सम्पन्न

काठमाडौँ –   नेपाल परिवार नियोजन संघको केन्द्रीय साधारण सभा सम्पन्न भएको छ। सभाले संघको विधानका केही बुँदाहरू संशोधन गर्ने प्रस्ताव पारित गर्नुका साथै आगामी पाँच वर्षका लागि रणनीतिक योजना तय गरेको छ ।

काठमाडौँमा सम्पन्न साधारण सभामा संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्रबहादुर श्रेष्ठले संस्थालाई आत्मनिर्भर बनाउन सामूहिक प्रयासको खाँचो औँल्याउँदै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

संघका कार्यकारी निर्देशक डा. प्रवीन शाक्यले संस्थाबाट सञ्चालित कार्यक्रमहरूको विवरण प्रस्तुत गरेका थिए भने निमित्त कार्यक्रम निर्देशक प्रमिश थापा, अर्थ निर्देशक नवराज ढकाल र वरिष्ठ मानव स्रोत व्यवस्थापक रवीन्द्र कार्कीले हालका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

संघका कोषाध्यक्ष निर्माणकुमार श्रेष्ठ र सदस्य कमला सापकोटाले संस्थालाई अझै सक्षम र दिगो बनाउने खाका प्रस्तुत गर्नुभएको थियो । संघका अनुसार हाल ३१ जिल्लामा सञ्चालित सेवा केन्द्रमार्फत ३५० नगरपालिका तथा गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा प्रदान भइरहेको छ। सेवाबाट लाभान्वितमध्ये ८० प्रतिशतभन्दा बढी सेवाग्राही सीमान्तकृत, अल्पसंख्यक तथा जोखिममा परेका समुदायका छन्।

विसं २०१६ सालमा वरिष्ठ समाजसेवी द्वारिकादेवी ठकुरानीको अगुवाइमा स्थापना भएको संघले देशभर यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँचविहीन समुदायसम्म पुर्‍याउने कार्य गर्दै आएको छ। संघ हाल सुरक्षित गर्भपतन सेवामा १४ प्रतिशत योगदान गरिरहेको छ भने पाल्पा र सुनसरीमा एचआईभी जोखिममा रहेका व्यक्तिका लागि ‘प्रेप सेवा’समेत सञ्चालन गरिरहेको छ।

संघले आगामी वर्षमा चार लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। विपद् व्यवस्थापनमा पनि सक्रिय संघले २०८० सालको जाजरकोट भूकम्पपछि ४६ वटा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी एक लाख पाँच हजारभन्दा बढीलाई सेवा पुर्‍याएको थियो।

संघले सन् २०२३ देखि २०२८ सम्मको रणनीतिक योजनामा व्यक्ति(केन्द्रित सेवा, यौनिकता शिक्षा, संस्थागत विकास, परिवर्तनका लागि ऐक्यबद्धता र दिगोपनालाई मुख्य स्तम्भका रूपमा राखेको छ। यी कार्यक्रमहरू नेपाल सरकारले तय गरेका दिगो विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

संघका अनुसार विगत पाँच वर्षमा संस्थाबाट क्रमशः सन् २०१७ मा ३० लाख ९४ हजार, २०१८ मा ३० लाख ६० हजार, २०२० मा ३२ लाख ४५ हजार, २०२१ मा ३५ लाख ९७ हजार, २०२२ मा ३८ लाख ६० हजार र २०२३ मा ३५ लाख ९६ हजार व्यक्तिले सेवा लिएका थिए ।

संघले भविष्यमा किशोरी र महिलाको जीवनस्तर उकास्न अझ सुलभ, सुरक्षित र गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया