दुल्लुमा देउडा खेल मोह : संस्कृति जगेर्नामा जुट्दै स्थानीय देउडा पारखी

दैलेख – सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा लोकसंस्कृति र परम्पराको जीवन्त अभिव्यक्ति स्वरूप गाइने देउडा खेल अहिले दुल्लु दरबारको ऐतिहासिक पटाङ्गीनीमा नयाँ जोशका साथ पुनर्जीवित हुँदै आएको छ । प्रत्येक महिनाको १५ गते नियमित रूपमा आयोजना हुँदै आएको यस देउडा खेलले दुल्लु क्षेत्रको सांस्कृतिक धरोहरलाई संरक्षण र प्रवर्द्धन गर्ने अभियानका रूपमा लिएको छ ।
दुल्लु क्षेत्र प्राचीनकालदेखि नै कला, संस्कृति र सभ्यताको गढका रूपमा परिचित छ। यहाँको मौलिक वाजा, भेषभूषा, भाषा, संस्कार र लोकगीतले यस क्षेत्रको सांस्कृतिक पहिचान झल्काउँछ। पछिल्ला केही वर्षयता युवापुस्ताको आकर्षण आधुनिक प्रवृत्तितर्फ देखिए तापनि, अब भने देउडा भाखा र देउडा संस्कार जगेर्नामा स्थानीय कलाकार तथा सर्जकहरू अग्रसर हुनेक्रम बढ्दै गएको छ ।
देउडा गीतमार्फत समाजमा चेतना र एकता फैलाउने उद्देश्यले दुल्लुका चर्चित देउडा सर्जक भरतराज पुरी, रुद्र रिमाल, दिनेश पोखरेल लगायतका कलाकारहरूले सामूहिक पहलमा ‘देउडा महोत्सव’को अभ्यास सुरु गर्नुभएको हो । उहाँहरूका अनुसार प्रत्येक महिनाको १५ गते हुने देउडा खेलमार्फत सांस्कृतिक पुस्तान्तरणमा योगदान पुर्याउने लक्ष्य लिइएको छ।
स्थानिय देउडा सर्जक रुद्र प्रसाद रिमाल भन्नुहुन्छ, 'हामीले आफ्नै संस्कृति बचाउन पुस्तान्तरण अत्यन्त आवश्यक छ। देउडा हाम्रो सम्पदा हो, यसलाई निरन्तर अभ्यासमार्फत सन्ततीसम्म पुर्याउनुपर्छ ।'
हाम्रो संस्कृति हामीले बचाएनौं भने कसले बचाउने ? देउडा हाम्रो पहिचान हो, त्यसैले आफुहरु यसमा सक्रिय भएको भरतराज पुरी बताउनुहुन्छ ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजाल, वडा नं – ७ का निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस नगर सभापति लालबहादुर रावतलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पनि देउडा खेलमा सक्रिय सहभागिता जनाउँदै संस्कृति जगेर्नामा पूर्ण ऐक्यवद्धता प्रकट गर्नुभएको छ ।
दुल्लुमा सुरु गरिएको यो पहल सुदूरपश्चिम र कर्णालीको सांस्कृतिक पहिचान जोगाउने अभियान मात्र नभई, लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म निरन्तरता दिने सार्थक प्रयास बनेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया