वीरेन्द्रनगरले खटायो नगर प्रहरी, सडक छेउछाउ व्यवस्थित गरिने

वीरेन्द्रनगरले खटायो नगर प्रहरी, सडक छेउछाउ व्यवस्थित गरिने

  सुर्खेत । कर्णाली प्रदेश राजधानी रहेको  वीरेन्द्रनगर नगरपालिकाले आफ्नै प्रहरी खटाएको छ । नगरपालिकाको बजार क्षेत्र अस्तव्यस्त बनिरहेकाले व्यवस्थित गर्न नगर प्रहरी खटाएको हो ।
२०८१ मंसिरमा वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी राख्न नयाँ भर्ना प्रक्रिया अघि बढाएको थियो । छनोट पुरा गरेर तालिमपछि वीरेन्द्रनगर फर्किएका नगर प्रहरीलाई नगर क्षेत्रमा खटाइएको छ ।
बजारका विभिन्न क्षेत्रमा अव्यवस्थित ठेला पसल, तरकारी पसल, पार्किङ गर्ने क्रम बढिर्हेका बेला त्यसलाई व्यवस्थित बनाउन नगर प्रहरीले सात दिनको अल्टिमेटम दिएको छ ।
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक (असई) एक पुरुष र एक महिला तथा प्रहरी नायब निरीक्षक (सई) एक जना, हवल्दार दुई पुरुष र एक महिला तथा सवारी चालक दुई जनासहित २० जना जवानका लागि आवेदन खुला गरेको थियो । यीमध्ये नगर प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक र हवल्दार महिला पदमा आवेदन नै परेन् ।

तालिम लिएका मध्ये बरिष्ठ हवल्दारको कमाण्डमा नगर प्रहरी परिचालन गरिएको हो । तल्लो पदमा आवेदन परेका नगर प्रहरीलाई नेपाल प्रहरीको नेपालगञ्जमा रहेको तालिम केन्द्रमा पठाएर तालिम लिएका थिए । तालिम सकेर फर्किएका नगर प्रहरीलाई आजबाट बजारमा खटाइएको वीरेन्द्रनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख टंक लामिछानेले बताए ।

‘नगर प्रहरीलाई पहिरो चरणमा सडक छेउछाउँमा रहेका ठेला गाडा व्यवस्थित गर्ने जिम्मा दिइएको छ,’ उनले भने,‘सात दिन भित्र ठेला गाडा हटाएर नगरपालिकाले तोकेको ठाउँमा राख्नु पर्नेछ ।’नगर प्रहरीले केही दिनमा नगरपालिका भित्रका सबै वडाको बस्तुस्थिति बुझेर कसरी व्यवस्थित बनाउने भन्ने कार्यबिधि बनाएर अगाडी बढेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले तोकेको चोकमा अटो पार्किङ गर्न सक्ने अवस्था, फुटपाथको दीर्घकालिन समाधान र ठेला ब्यापारहरुको व्यवस्थापनका लागि कसरी राख्ने सबैलाई जानकारी दिन थालिएको लामिछानेले बताए ।
नगरपालिकाले नगर प्रहरी सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाएर नयाँ प्रहरी छनोट गरेको हो । ‘एक्काशी नगर प्रहरी खटाएर बजारमा अहिले जहाँ पायो त्यहीँ भएको पार्किङ हटाउँदा समस्या हुनसक्छ,’ लामिछानेले भने, ‘कम्तिमा सन्देश दिनेगरी शुरुमा सार्वजनिक सूचना जारी गर्ने र विस्तारै अटेरी गरे हटाउदै लैजाने नीतिअनुसार प्रहरी खटाएकाछौं ।’
प्रहरी निरीक्षकको कमाण्डमा नगर प्रहरी सञ्चालन गर्ने कार्यविधिमा उल्लेख छ । तर नगर प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक ९असई० र प्रहरी नायब निरीक्षकमा आवेदन नपरेपछि बरिष्ठ हवल्दारको कमाण्डमा खटाउन लागिएको हो । आवेदन नपरेका पदहरुमा पुनः विज्ञापन गर्न लागिएको लामिछाने बताए ।
नगर प्रहरी परिचालनपछि नगरपालिकाले निर्माण गरेको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, सम्पतीको सुरक्षा र संरक्षण गर्ने, पार्क, नगर क्षेत्रमा हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थान गर्नमा सहज हुने अपेक्षा नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।
बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने अधिकार नगर प्रहरीलाई हुनेछ ।
विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्दार, राहत तथा पुनस्थापना, अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड तथा छाडा पशु चौपाय र अनधिकृत निर्माण तथा सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रणमा नगर प्रहरी खटिनेछ ।
आन्तरिक साधन स्रोतको अधिकतम परिचालन गरेर आम्दानी बढेपछि प्रहरीको संख्या नगरपालिका थप्न सक्नेछ । शुरुमा अहिले २७ जना नगर प्रहरी राख्ने कार्यविधि बनाइएकाले आवश्यकताको आधारमा विस्तारै यो संख्या बढाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया