गुराँसमा बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको अवस्थाबारे अन्तक्रिया

गुराँसमा बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको अवस्थाबारे अन्तक्रिया

गुराँस –  दैलेखको गुराँस गाउँपालिकामा  बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको अवस्थाबारे अन्तक्रिया कार्यक्रम गरिएको छ ।   उक्त छलफलमा बालबालिकालाई भविष्यको कर्णधारका रूपमा पहिचान गर्दै गुराँस गाउँपालिकाले बालमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो । पालिकाका अध्यक्ष टोपबहादुर विसीले बालबालिकाको समग्र विकासका लागि आगामी वर्षमा थप बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।

गुराँस गाउँपालिकामा सम्पन्न ‘बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयन अवस्था’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमको उद्घाटन संघीय सांसद तथा राष्ट्रिय सभा विधायन समितिकी सभापति तुलसा कुमारी दाहालले गर्नुभएको थियो ।  कार्यक्रममा बालअधिकार, बाल सहभागिता, थर रोज्ने अधिकार, बाबुआमाको सम्बन्ध विच्छेदपछि बालबालिकाको भेटघाट अधिकार, तथा विवाहको न्यूनतम उमेरलगायतका विषयमा गहन छलफल भएको बताइएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रालयका उपसचिव श्री नुमराज खनालले बालबालिका सम्बन्धी ऐन र नीतिहरूको वर्तमान कार्यान्वयन अवस्थाबारे स्पष्ट पार्दै बाल सहभागिता र योजना तर्जुमा प्रक्रियामा स्थानीय तहको भूमिकाबारे जानकारी गराउनुभएको थियो । उहाँले बाल क्लब दर्ताका क्रममा देखिएका समस्याहरूबारे पनि सम्बोधन गर्दै समाधानका उपायहरू प्रस्तुत गर्नुभयो ।

गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले बालबालिका लक्षित योजनाको छनोट प्रक्रिया र नीति कार्यान्वयनका अनुभव साझा गरेका थिए। महिला तथा बालबालिका शाखाका कर्मचारी नगेन्द्र पालले पालिकाले तयार पारेका नीति तथा कार्यविधिहरू र राम्रो अभ्यासहरूबारे प्रस्तुति दिनुभएको थियो  । उहाँले पालिकाले बाल क्षेत्रमा थुप्रै उदाहरणीय कामहरू गरेको बताउँदै अरू स्थानीय तहहरूले समेत सिक्न सक्ने आधार तयार भएको जानकारी दिनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि तुलसा कुमारी दाहालले गुराँस गाउँपालिकाको पहलको प्रशंसा गर्दै बालमैत्री नीति निर्माण र कार्यान्वयनमा देखिएको सक्रियताले अन्य पालिकाहरूका लागि प्रेरणा दिने विश्वास व्यक्त गगर्नुभयो ।

अध्यक्ष टोपबहादुर विसीले बालबालिकाले कार्यक्रमहरूमा आत्मविश्वासपूर्वक अभिव्यक्ति दिन सक्ने क्षमताको सराहना गर्दै पालिकाले अझ सशक्त कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “बालबालिका हाम्रो भविष्य हुन्, उनीहरूको समुचित विकासका लागि हामी प्रतिबद्ध छौँ। आगामी योजनामा थप बजेट विनियोजन गर्दै जान्छौँ,” उहाँले भन्नुभयो ।

कार्यक्रमको समन्वय सोसेक नेपाल सहयात्रा तेस्रो परियोजनाले गरेको थियो। सो परियोजनाका फिल्ड अफिसर कस्तुरा विसीले कार्यक्रमबारे जानकारी दिँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया