श्रमिक अधिकार सुनिश्चित र बाल श्रम अन्त्यका लागि सोसेकको अपिल

श्रमिक अधिकार सुनिश्चित र बाल श्रम अन्त्यका लागि सोसेकको अपिल

काठमाडौँ –  आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) नेपालसहित विश्वभर श्रमिक वर्गको अधिकार र योगदानको सम्मानमा विविध कार्यक्रमका साथ मनाइएको छ। श्रमिकको सम्मान, न्यूनतम पारिश्रमिक, सुरक्षित वातावरण, सामाजिक सुरक्षा र बाल श्रमको अन्त्य जस्ता मुद्दामा चेतना फैलाउँदै दिवस मनाउन थालिएको हो । दिवसको अवसमार सोसेक नेपालले श्रमिक अधिकार सुनिश्चित गर्न तथा बाल श्रमको अन्त्य गर्न सम्बन्धित सबैलाई ऐक्यबद्ध भएर अगाडि बढ्न अपिल गरेको छ।

सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आधारभूत अधिकारका रूपमा संविधानले सुनिश्चित गरेका श्रमिकको हकको पूर्ण कार्यान्वयन र श्रमको सम्मान बिना दिगो राष्ट्रिय समृद्धि सम्भव छैन ।”

थापाले पर्याप्त कानुनी र नीतिगत व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयनको अभावले श्रमिकको जीवनस्तरमा खासै सुधार आउन नसकेको उल्लेख गर्नुभएको छ । 'नेपालका श्रमिकहरू अझै पनि न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र सामाजिक सुरक्षाबाट वञ्चित छन्, जुन गम्भीर चिन्ताको विषय हो,' उहाँले भन्नुभयो  ।

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक र धारा ४२ मा सामाजिक न्यायको हक व्यवस्था गरिएको छ। यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम ऐन २०७४, ट्रेड युनियन ऐन २०४९ लगायत कानुनमार्फत श्रमिकको अधिकारलाई कानूनी सुरक्षा दिइएको भए पनि कार्यान्वयन कमजोर रहेको सोसेक नेपालको ठम्याइ छ ।

सन्देशमा भनिएको छ, “१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको अधिकार सुदृढ होस्, बाल श्रम अन्त्य होस्, र सम्पूर्ण नेपाली श्रमिकको अनुहारमा समृद्धिको मुस्कान ल्याओस् – यही हाम्रो शुभकामना हो ।”

प्रतिक्रिया