बालविवाह विरुद्धको अभियान कसिलो बनाउँदै हिमा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले बालविवाह विरुद्धको अभियानलाई कसिलो बनाउँदै लगेको छ । सिंगो गाउँपालिकालाई यसै आर्थिक वर्षभित्र बालविवाहमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियानलाई तीव्रता दिएको हो ।
पालिकाभित्रका ७ वटा वडामध्ये ६ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । अहिले हिमामा बालविवाह हुन छाडेको छ । बालविवाह रोक्न बालबालिका, युवायुवती, किशोरकिशोरी, महिला समूहहरु, कर्मचारी, शिक्षक, अभिभावक, जनप्रतिनिधिहरु सबै लागिपरेका छन् ।
दुई वर्षयता पालिकाभित्र सर्भे गर्दा बालविवाहको तथ्यांक नभेटिएपछि पालिकाले धमाधम वडाहरुलाई बालविवाहमुक्त घोषणा गरिरहेको छ । एक देखि ६ सम्मका वडाहरु बालविवाहमुक्त भइसकेका छन् । हिमा–७ पनि बालविवाहमुक्त घोषणाको अन्तिम चरणमा छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बालविवाह अपराध नै भएको सिंगो पालिका नै बालविवाहमुक्त बनाउन थालिएको बताए । हिमाले ‘बिहेवारी २० वर्षपारी’ हामी सबैको ऐक्यबद्धता भन्ने मुख्य नारा बनाएको छ ।
सुरुमा बालविवाह गर्न हुँदैन भनेर सचेतना फैलाउने, दोस्रो चरणमा बालविवाह गर्दा बेहोर्नुपर्ने कानुनी व्यवधानबारे जानकारी दिने र अन्त्यमा बालविवाह गरे नगरेको सर्भेक्षण गरेर त्यसैको नतिजाका आधारमा बालविवाहमुक्त घोषणा गर्ने गरेको छ ।
हिमाले शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरु सबै बालविवाह विरुद्धको अभियानमा परिचालन गरेको थियो । बालविवाह रोक्न पालिकाले आधारभूत सूचकहरु बनाएको छ । बालविवाह सम्बन्धि रणनीति, बाल संरक्षण नीति बनाएको छ । निर्देशिका बनाएर कार्यान्वयनमा अघि बढायो, पालिका, वडा र विद्यालय स्तरमा बाल अधिकार संरक्षण समितिहरु बनाएको अध्यक्ष शाहीले बताए ।
उनले भने,‘यी मापदण्डका आधारमा वडाहरु बालविवाहमुक्त घोषणा भए ।’ अहिले हिमामा जोतिषले चिना हेराउँदा नागरिक लगायतका प्रमाणपत्र र वडाको सिफारिस माग्छन् । धामीहरुले उमेर सोधेर विवाहको दिन दिने गरेका छन् । विवाह गर्न लागेका जोडीहरुले वडाको परामर्श लिने गरेका छन । हिमाले बालविवाह गरेको भोज भतेर र कार्यक्रममा जाने जो कोही सरकारी ओहदाको व्यक्तिलाई कारबाहीको भागिदार बनाउनेसमेत नीति लिइएको छ ।
हाल जुम्लाको १ नगरपालिका र ७ गाउँपालिकासहित ६० वडा छन् । तीमध्ये हालसम्म १४ वडा बालविवाहमुक्त भएका छन् । हिमा गाउँपालिकाका ६ वडासहित सिन्जाका तीनवटा वडा, कनकासुन्दरीका १ वडा, पातारासीको १ वडा, तिलाको १ वडा, र गुठिचौरको १ वटा वडा बालविवाहमुक्त भइसकेका छन् ।
प्रतिक्रिया