विश्व प्रेस स्वतन्त्रता दिवसमा दैलेखमा रक्तदान तथा स्वास्थ्य शिविर हुने

जीवन आचार्य,
दैलेख – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दैलेख शाखाले रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । महासंघले हरेक वर्षको मे ३ (वैशाख २०) मा मनाइने यस दिवसलाई विविध कार्यक्रमसहित मनाउँदै आएको छ ।
महासंघका अध्यक्ष अमर सुनारका अनुसार शिविर यही वैशाख १९ गते (शुक्रबार) जिल्ला सदरमुकाम स्थित देवकोटा चोकमा जिल्ला अस्पतालको सहकार्यमा जानकारी दिनुभयो । कार्यक्रममा रक्तदानसँगै नसर्ने रोगसम्बन्धी स्वास्थ्य जाँच पनि गरिनेछ।
भोलिपल्ट वैशाख २० गते (शनिबार) विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन महासंघको वार्षिक साधारण सभा आयोजना गरिनेछ। बिहान १० बजे गणेशचोकबाट सुरु हुने ¥याली नगर परिक्रमा गर्दै जिल्ला समन्वय समिति सभाहलमा पुगेर सभाको उद्घाटन गरिने अध्यक्ष सुनारले बताउनुभयो ।
सुनारका अनुसार कार्यक्रममा महासंघ दैलेख शाखाबाट हालसम्म प्रदेश र केन्द्रीय तहमा प्रतिनिधित्व गरेका पत्रकारहरूलाई सम्मान गरिने छ। साथै, साधारण सभामा आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरी नीति, योजना र भावी कार्यक्रमहरूमा नीतिगत निर्णय गरिने छ ।
संयुक्त राष्ट्रसंघको पहलमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्ला वर्षहरूमा प्रेस स्वतन्त्रता विरुद्ध बढ्दो आक्रमण, डिजिटल जोखिम र मिडिया साक्षरताको आवश्यकतालाई ध्यानमा राख्दै यस वर्ष पनि दैलेखमा चेतनामूलक कार्यक्रमहरू गर्न महशुस भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया