दुल्लुमा धुलो–हिलोको अन्त्य हुँदै, धुलो-हिलोबाट मुक्ति पाउने आशामा स्थानीय

दुल्लु – वर्षौंदेखि हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती भोग्दै आएका दुल्लु नगरवासी अहिले भने खुशीका साथ आफ्नै घरछेउमा सडक निर्माण भइरहेको हेर्दै छन् ।
दुल्लु नगरपालिका–१ को कृतिखम्बदेखि मध्यपहाडी लोकमार्गको घिया–तिदु जिरोपोइन्टसम्म र दुल्लु रातिमाटा हुँदै वडा नं– ६ को छिउडी–पुसाकोट सडकखण्डमा हाल तीव्र गतिमा निर्माण कार्य जारी छ।
नगरपालिकाले अघिल्ला वर्षहरूमा पनि सडक सुधारका प्रयास गरेपनि पर्याप्त बजेट अभावका कारण काम अगाडि बढ्न सकेको थिएन । संघीय र प्रदेश सरकारसँग पटक–पटक पहल गर्दा पनि अनुकूल वातावरण बन्न सकेको थिएन।
तर यसपटक भने दुल्लु नगरपालिकाको निरन्तर समन्वय र पहलमा संघीय सरकारको बजेट व्यवस्थापनमार्फत सडक डिभिजन कार्यालय सुर्खेतको सहयोगमा कृतिखम्ब–घियातिदु सडकखण्डका लागि १० करोड ५० लाख र रातिमाटा–छिउडी सडकका लागि ६ करोड, गरी कुल १६ करोड ५० लाख बजेट विनियोजन भएको दुल्लु नगरपालिका मेयर भरत प्रसाद रिजालले जानकारी दिनुभयो ।
रिजालका अनुसार 'विगतमा जनतामा काम नहुने निराशा थियो, तर अहिले हामीले निरन्तर प्रयासपछि बजेट ल्याउन सफल भयौं । हाल काम तीव्र गतिमा भइरहेको छ। आशा छ समयमै ठेकादारले गुणस्तरीय काम सम्पन्न गर्नेछ र हाम्रो प्रयास सार्थक हुनेछ,'उहाँले भन्नुभयो ।
सडक निर्माण देखेर स्थानीयवासी उत्साहित छन् । दुल्लु–८ का स्थानीय भक्तबहादुर नेपाली भन्नुहुन्छ, “पहिला हिउँदमा धुलो र वर्षामा हिलोले हैरान हुन्थ्यौं, अब भने स्वच्छ र सुरक्षित सडक पाउने आशा जागेको छ।”
दुल्लु–१० का सूर्यबहादुर शाहीले थप्नुभयो, “सडकमा गाडी चल्दा घरभित्रै धुलो पस्ने गर्थ्यो, स्वास्थ्यमा असर गर्थ्यो। अहिले काम भइरहेको देख्दा दुल्लु नगरको पहल र प्रदेश, संघ सरकारप्रति आभारी छौं ।”
सडक निर्माणमा सुपरभाइजरको भूमिका निभाइरहेका दुल्लु–१ का धरमबहादुर खड्काका अनुसार हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । “सम्झौताअनुसार निर्धारित मिति भित्रै काम सकिन्छ,” उहाँले बताउनुभयो।
धुलो र हिलाम्मे अवस्थाबाट गुज्रिरहेको दुल्लु अहिले आधुनिक र सफा सडकतर्फ उन्मुख हुँदै गर्दा नगरवासीहरुमा नयाँ आशा र उत्साह देखिएको छ।
प्रतिक्रिया