'प्रत्येक नागरिक जागरूक हुँदै लागुपदार्थ नियन्त्रण गर्नुपर्छ'

'प्रत्येक नागरिक जागरूक हुँदै लागुपदार्थ नियन्त्रण गर्नुपर्छ'

 

जीवन आचार्य,

सुर्खेत -  कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लागुपदार्थ दुर्व्यसनले हाम्रो समाजलाई गम्भीर संकटमा पुर्‍याइरहेको बताउनुभएको छ । शुक्रवार सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा मन्त्री भण्डारीले लागुपदार्थले समाजलाई गम्भीर संकटतर्फ पुर्‍याइरहेको भन्दै यसको नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गर्दै प्रत्येक नागरिक आफैँ सचेत हुनुपर्ने बताउनुभयो ।

 लागुपदार्थ अत्यधिक सेवन हुने स्थानहरूमा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने र समुदायमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

मन्त्री भण्डारीले बिरेन्द्रनगर, सुर्खेतमा सम्पन्न ‘लागुपदार्थ दुर्व्यसन न्युनिकरणका लागि रणनीति, कार्यक्रम, चुनौती तथा सरोकारवालाको भूमिका’ विषयक प्रदेशस्तरीय कार्यशालामा उक्त राख्नुभएको थियो ।

एइआइएन लक्जेम्बर्गको साझेदारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको समन्वय र सोसेक नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश योजना आयोग सदस्य अशोकनाथ योगी, प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, उपसचिव उत्तम गौतम, राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत डम्बर रोकाया, पत्रकार, शिक्षक, बाल सञ्जाल प्रतिनिधि, र विभिन्न स्थानीय निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशेष अतिथि अशोकनाथ योगीले यस्ता कार्यक्रम गाउँ–टोलसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै स्थानीय सरकार र समुदायको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले प्रस्तुत प्रशिक्षणमा लागुपदार्थ सेवनका कारण देखिने शारीरिक, मानसिक, सामाजिक असरहरूबारे जानकारी दिँदै भन्नुभयो, “प्रयोगकर्ताहरू एकान्तप्रिय, आक्रामक, पढाइमा उदासीन तथा सम्पत्ति दुरुपयोग गर्ने प्रवृत्तिका देखिन्छन्। यसले समाजमा अपराध बढाउने खतरासमेत बढाउँछ।”

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशमा १०६ वटा लागुपदार्थ सम्बन्धी मुद्दा दर्ता भएको जानकारी श्रेष्ठले दिनुभयो। रिकभरी नेपालका सल्लाहकार कुमार बहादुर ढकालले दुर्व्यसनलाई रोगको रूपमा लिएर उपचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै युवा पुस्ता चिन्ताजनक स्थितिमा रहेको चेतावनी दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले 'अरूलाई परिवर्तनको सन्देश दिनु अघि आफैँ सचेत र जिम्मेवार बन्नु आवश्यक छ,' भन्दै सामूहिक प्रयासबिना लागुपदार्थ नियन्त्रण असम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया