भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण

बाँके - कोहलपुर नगरपालिकामा आजदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो नगरपालिकाका वडा नं १ का भूमिहीन दलित खडके दमाईलाई प्रमाणपत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको थालनी गर्नुभएको हो । पहिलो चरणमा ७१ जना भूमिहीन, दलित सुकुमबासीले जग्गाधनी पूर्जा पाएका छन् ।
त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले आज प्रदान गरिएको जग्गा सम्बन्धित व्यक्तिको नभई अन्यको भएको पाइए पूर्जा जफतका साथै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिनुभयो ।
मन्त्री अधिकारीले भूमिहीन सुकुमबासी र भूमिहीन दलितलाई जग्गा प्राप्तिमा कुनै शुल्क नलाग्ने जानकारी दिनुभयो । स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि अधिकार दिइएको उल्लेख गर्दै उहाँले स्थानीय तहलाई असार मसान्तसम्ममा वर्गीकरणको सबै काम पूरा गर्न आग्रह गर्नुभयो । “सबै पालिकाले जग्गाको वर्गीकरण असार मसान्तसम्म गरेर पठाउनुभएन भने जग्गाको किनबेच र कित्ताकाट बन्द हुन्छ”, उहाँले भन्नुभयो ।
सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले सुकुमबासी समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सूर्य ढकाल, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना, कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आर्चाय, उपप्रमुख स¬ङ्गीता सुवेदीलगायत वक्ताले पूर्जा वितरणमा विलम्ब भएको गुनासो गर्नुभयो ।
बाँकेमा हालसम्म ५४ हजार हाराहारीमा पूर्जाका लागि आवेदन परेको छ । चालु आर्थिक वर्षमा छ हजार प्रमाणपत्र वितरण गर्ने आयोगको लक्ष्य छ ।
प्रतिक्रिया