दैलेखमा पत्रकार महासंघको वार्षिक साधारणसभा सम्पन्न

पत्रकारहरू प्रविधिमैत्री बन्नुपर्नेमा जोड

दैलेखमा पत्रकार महासंघको वार्षिक साधारणसभा सम्पन्न

दैलेख -  विश्व प्रेस स्वतन्त्रता दिवस तथा  पत्रकार महासंघ दैलेख शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले पत्रकारहरू प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता वर्तमान सन्दर्भमा झनै महत्वपूर्ण रहेको बताउनुभएको छ  ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरेको विशेष कार्यक्रम तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रविधिको प्रभावकारी प्रयोगबाट सञ्चार क्षेत्रमा विविधता र प्रभावकारिता थपिने धारणा राख्नुभयो  ।

समाजमा सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना तथा अफवाहले साम्प्रदायिक द्वन्द्व र हिंसा भड्किने खतरा रहेको उल्लेख गर्दै उपाध्यायले संयमित, तथ्यपरक र सत्य सूचना प्रवाह गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले सुशासन र सामाजिक सद्भाव अभिवृद्धिमा सञ्चारकर्मीको भूमिकालाई निर्णायक बनाउने समय आएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ दैलेख शाखाको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ । साथै महासंघको कर्णाली प्रदेश समिति र केन्द्रीय समितिमा निर्वाचित भएका पत्रकारहरूलाई सम्मान समेत गरिएको छ। सम्मान प्राप्त गर्नेहरूमा कर्णाली प्रदेश समितिका पूर्व सदस्य गोबिन्द केसी (२०७३), प्रदेश उपाध्यक्ष चक्र केसी र सदस्य सुवर्ण शाही (२०७७), केन्द्रीय सदस्य नविन रिजाल (२०७७) र हालै निर्वाचित प्रदेश अध्यक्ष विष्णु शर्मा, सदस्य मदन बिक रहनुभएको छ ।

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले पत्रकारहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धिका लागि प्रदेश समिति निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले निष्पक्ष समाचार सम्प्रेषण गर्न सके पत्रकारहरूलाई सुरक्षा चुनौती न्यून हुने धारणा व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका इञ्चार्ज प्रेम कटुवालले शान्ति प्रक्रियापछि पनि पत्रकारहरूप्रति रहेको असुरक्षाको अवस्थालाई सम्बोधन गर्न महासंघले दीर्घकालीन रणनीति ल्याउनुपर्ने बताउनुभयो । नेपाल मजदूर किसान पार्टीका जिल्ला सदस्य रत्नेश श्रेष्ठले देशका राजनीतिक परिवर्तनहरूमा पत्रकारहरूको योगदान उच्च रहेको स्मरण गराउनुभयो र 

कार्यक्रम महासंघ दैलेख शाखा अध्यक्ष अमर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदन, नीति तथा आगामी कार्यक्रमहरूबारे नीतिगत निर्णयहरू समेत प्रस्तुत गरिएको थियो ।

प्रेस स्वतन्त्रता दिवस हरेक वर्ष मे ३ तारिखका दिन विश्वभर मनाइन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो, जसको उद्देश्य स्वतन्त्र प्रेसको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु हो ।

प्रतिक्रिया