पत्रकार प्रविधिमैत्री हुनुपर्छ : उपाध्याय

पत्रकार प्रविधिमैत्री हुनुपर्छ : उपाध्याय


दैलेख । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले पत्रकारहरु प्रविधिमैत्री बन्न आग्रह गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार दैलेखमा आयोजित विशेष कार्यक्रम तथा महासंघको वार्षिक साधारणसभामा उहाँले प्रविधिको उपयोगले सूचना सञ्चारमा विविधता दिन सकिने बताउनुभयो ।

सामाजिक सञ्जालमा आउने अपवाह सूचनाहरुले समाजलाई उत्तेजना र साम्प्रदायिकता हिंसा उन्मुख गराएको उल्लेख गर्दै केन्द्रीय सदस्य उपाध्यायले सत्यतथ्य सूचना प्रवाह गरी संयमता र सुशासन अभिबृद्धिमा सघाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारको सामाजिक दायित्व पनि यही भएको उहाँले चर्चा गर्नुभयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ दैलेख शाखाको  www.fnjdailekh.org  लिंक रहेको अफिसियल वेवसाइट लञ्च गरिएको छ । यसै अवसरमा दैलेख शाखाबाट महासंघको कर्णाली प्रदेश समिति र केन्द्रीय समितिका निर्वाचितहरुलाई सम्मानपत्र दिइएको छ ।

२०७३ मा कर्णाली प्रदेश समितिका सदस्य गोबिन्द केसी, २०७७ मा प्रदेश उपाध्यक्ष चक्र केसी, प्रदेश समितिका सदस्य सुवर्ण शाही, २०७७ मा केन्द्रीय सदस्य नविन रिजाल र पाँच महिना अघि कर्णाली प्रदेश समितिको अध्यक्षमा निर्वाचित बिष्णु शर्मालाई सम्मान गरिएको हो ।

कार्यक्रममा महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले पत्रकारहरुको व्यवसायिक सीप, ज्ञान र क्षमता अभिबृद्धिमा प्रदेश समिति जुटिरहेको बताउनुभयो । त्यसबखत नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले पक्षपात रहित समाचार सम्प्रेषण गर्न सके पत्रकारहरु सुरक्षामा त्यति धेरै चुनौती नरहेको टिप्पणी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका इञ्चार्ज प्रेम कटुवालले शान्ति प्रक्रियापछि पनि पत्रकारहरु असुरक्षाप्रति चिन्ता व्यक्त नेपाल पत्रकार महासंघले रणनीतिक योजना ल्याउनुपर्ने बताउनुभयो । नेपाल मजदूर किसान पार्टीका जिल्ला सदस्य रत्नेश श्रेष्ठले राजनीतिक परिवर्तनहरुमा पत्रकारहरुको योगदान रहेको चर्चा गर्नुभयो ।

महासंघका दैलेख शाखा अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज गणेशबहादुर बराल, महासंघका पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षहरु यज्ञराज थापा, नमन शाही, पुस्कर थापाले प्रेस स्वतन्त्रता दिवस र पत्रकारिताको दायित्व विषयमा बोल्नुभएको थियो ।

दैलेख शाखाको वार्षिक साधारणसभा कार्यक्रममा महासंघको दैलेख शाखाका दोश्रो कार्यकालका अध्यक्ष कमल शर्मा, प्रेस चौतारीका केन्द्रीय सदस्य याम शर्मा, प्रदेश उपाध्यक्ष हिक्मत नेपाली, प्रेस यूनियनका जिल्ला सभापति अभिसेक अनुराग लगायतले पत्रकारिताले समाज विकासमा पारेको प्रभाव बारे चर्चा गर्नुभएको थियो ।

नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।

प्रतिक्रिया