वीरेन्द्रनगरमा रेड जोन क्षेत्र घोषणा, फुटपाथ व्यवसाय निषेध

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले शहरी सौन्दर्य, ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि प्रमुख स्थानहरूलाई रेड जोन घोषणा गर्दै फुटपाथमा व्यवसाय निषेध गरेको छ ।
नगर कार्यपालिकाको निर्णयअनुसार एयरपोर्ट चोक, बसपार्क गेट, मंगलगढी, बुलबुले गेट, प्रदेश अस्पताल गेट, सरकारी कार्यालय क्षेत्रलगायत ठाउँहरूमा फुटपाथ व्यवसाय गर्न नपाइने भएको हो ।
ठेला, डोका, चाट, फलफूल तथा तरकारी व्यवसायका लागि वैकल्पिक स्थान तोकिएको छ भने आंशिक (एलो जोन) र पूर्ण (ग्रीन जोन) क्षेत्रमा तोकिएको समयभित्र व्यवसाय गर्न पाइनेछ।
गरिखाने नागरिकलाई व्यवस्थित स्थानमा राखेर दीगो व्यवस्थापन गर्न लागेको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । ढकालले भन्नुभयो, “गरिखाने नागरिकहरुको दैनिक जीविकोपार्जनलाई धरपकड गर्नेभन्दा उनीहरुलाई निश्चित स्थान तोकेर व्यवस्थित गर्ने हाम्रो प्रयास हो । कतिपय व्यवसायीलाई नगर प्रहरीले व्यवसाय उठाइदिन्छ कि भन्ने चिन्ता छ, तर हामी बाधक होइन, व्यवस्थापनमा सहायक हुनेछौँ ।”
व्यवसायीले अनुमति, बहाल, कर र सफाइ शुल्क अनिवार्य तिर्नुपर्नेछ । नगरपालिकाले सात दिनभित्र सरिसक्न सूचना जारी गरेको छ, अटेरी गरे नियमन गरिने समेत जनाएको छ।
प्रतिक्रिया