दैलेखका १९ केन्द्रमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण

दैलेख – दैलेख जिल्लाका १९ परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा शान्तिपूर्वक रुपमा संचालन भइरहेको छ । शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन बिष्टका अनुसार पहिलो दिनको परीक्षा निर्धारित समयअनुसार बिहान ८ बजेबाट सुरु भई व्यवस्थित रूपमा सञ्चालन भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभर १ हजार ५२५ परीक्षा केन्द्र र विदेशमा जापानमा १ परीक्षा केन्द्र गरी कुल १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । जापानस्थित परीक्षा केन्द्रमा समेत इमेलमार्फत प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन गरिएको हो।
यस वर्ष नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी कुल ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी भएका छन् । ग्रेडवृद्धि परीक्षामा भने १ लाख ६५० विद्यार्थी सहभागी छन् ।
परीक्षा शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउने उद्देश्यले बोर्डले विशेष सुरक्षा योजना लागू गरेको छ । परीक्षार्थीलाई मोबाइल फोन, स्मार्ट घडी, क्याल्कुलेटर लगायतका विद्युतीय उपकरण परीक्षा केन्द्रमा लैजान कडाईका साथ निषेध गरिएको छ। यसपटक पनि प्रश्नपत्र डिजिटल माध्यमबाट केन्द्रमा पठाइएको थियो।
प्रतिक्रिया