'देशको आर्थिक अबस्था सुधार गर्न तीन तहकै सरकारको समन्वय आवश्यक'
दैलेख - कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाहीले मुलुकको आर्थिक अवस्था सुधार गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार दैलेख उद्योग वाणिज्य संघको ११औं साधारण सभा तथा १०औं अधिवेशनलाई प्रमुख अतिथि रूपमा सम्बोधन गर्दै अध्यक्ष शाहीले अहिलेको परिस्थितिमा देशको अर्थतन्त्र सुधार गर्न अन्य देशबाट पूँजी भित्र्याउन सकिने अवस्था निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो । उद्योग व्यवसाय संकटमा रहेको भनिए पनि अर्काको उत्पादन आयात गरेर मात्र सुधार सम्भव छैन, अध्यक्ष शाहीले भन्नुभयो, संसाधनको सदुपयोग र उत्पादनको वृद्धिबाट मात्रै समृद्धिको आधार तयार हुन्छ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षबिक्रम खड्काले कोभिड महामारीपछिको समय व्यवसायीका लागि अत्यन्तै कठिन रहेको उल्लेख गर्दै नयाँ व्यवसाय सुरु गर्न सबै उद्योगीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
दैलेख उद्योग वाणिज्य संघका महासचिव प्रकाश पौडेलले संघको आगामी रणनीति, गतिविधि तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। हाल दैलेख उधोग बाणिज्य सघं दैलेखमा जम्मा ६१३ ब्यावसाय नबिकरण गरेका छन । नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले आगामी दिनमा निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले नीति तथा कार्यक्रम अघि बढाउने बताउनुभयो।
कार्यक्रममा पूर्व अध्यक्षहरू यमबहादुर मल्ल, शान्तिप्रसाद शर्मा लगायतले उद्योग व्यवसायको विकास बिना आर्थिक समृद्धि असम्भव रहेको धारणा राख्नुभयो। उक्त कार्यक्रममा सहभागी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी, जनप्रतिनिधि, समाजसेवी लगायतले आगामी दिनमा उद्योगधन्दा विस्तारका लागि सहकार्य र एकता आवश्यक रहेकोमा एकमत जनाएका थिए।
कार्यक्रमका अध्यक्ष तथा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले, “उद्योग व्यवसायको सफलताका लागि हामी आफैँबाट पहल गर्न आवश्यक छ,” भन्दै सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्नुभयो। गणपुरक सख्या नपुगेर यही बैशाख २४ गते साधारण सभा हुने महासचिब प्रकाश पौडेलले ज्वाला सन्देशलाइ जानकारी दिनुभयो।
प्रतिक्रिया