गाउँमै स्वास्थ्य सेवा पाएपछि सिम्ताका स्थानीय खुसी

गाउँमै स्वास्थ्य सेवा पाएपछि सिम्ताका स्थानीय खुसी

सुर्खेत -  लामो समयदेखि हाडजोर्नी समस्याबाट पीडित सुर्खेत सिम्ता गाउँपालिका–८ का ६१ वर्षीय भीमबहादुर खत्रीलाई स्वास्थ्य उपचारका लागि वीरेन्द्रनगर वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।

तर, हालै गाउँमै सञ्चालन भएको एकदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरले उनलाई मात्र होइन, सयौं स्थानीयलाई ठूलो राहत दिएको छ। “गाउँमा नै विशेषज्ञ आएर जाँच गर्दा सहज भयो, न त लामो यात्रा, न त खर्च,” खत्रीले भन्नुभयो, “यस्ता शिविर नियमित हुनुपर्छ।”

शिविरमा सहभागी अर्की स्थानीय पार्वती नेपालीले नसासम्बन्धी समस्याको जाँच गाउँमै भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म नसाको उपचारका लागि सहर जानुपर्थ्यो, अब गाउँमै सेवा पाइयो।”

वडा नम्बर ८ की पूर्णकला ओली पेटसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। उहाँले शिविरबाट उपचार पाएपछि गाउँमा विकासको अनुभूति भएको बताउनुभयो।

शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगको जाँच र उपचार गरिएको थियो।

वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा। पारस पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डा. नम्रता भट्टराई र डा. कृतिका थापा, साथै मेडिकल अधिकृत डा. दिलीपकुमार शाह र डा. अमृत कर्ण तथा फिजियोथेरापिस्ट डा। कैलास सिरा लगायतको टोलीले सेवा प्रदान गरेका थिए।

शिविरमा करिब ३०० जनाले सेवा लिएका थिए, जसमध्ये २२५ जना महिला र ७५ जना पुरुष थिए। बिरामीहरूलाई आवश्यक परामर्शसँगै निःशुल्क औषधि पनि वितरण गरिएको थियो।

यो शिविर सिम्ता गाउँपालिका–८ मा पहिलोपटक सञ्चालन गरिएको विशेषज्ञ स्वास्थ्य शिविर हो। कार्यक्रम वडा कार्यालयको आयोजना, नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णाली, सुर्खेत उद्योग वाणिज्य सङ्घ, र नेपाल औषधि व्यवसायी सङ्घ कर्णाली प्रदेशको सहकार्यमा सम्पन्न भएको थियो।

वडाध्यक्ष चेतबहादुर रेग्मीका अनुसार आर्थिक अवस्था कमजोर भएका धेरै बिरामी शिविरबाट लाभान्वित भएका छन्।

गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले घरदैलोमै सेवा पाउँदा नागरिकहरू उत्साहित भएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमै यस्ता स्वास्थ्य शिविरको व्यवस्था गरिने जानकारी दिनुभयो।

शिविरले स्थानीयको स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तारमा उल्लेखनीय योगदान दिएको सहभागीहरूको धारणा थियो।

प्रतिक्रिया