दैलेखमा चट्याङ पूर्वसूचना प्रणाली जडान गर्न सांसद रानाको माग

काठमाडौँ – प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले चट्याङजन्य घटनाबाट प्रभावित दैलेख जिल्लामा पूर्व सूचना दिने सेन्सरयुक्त यन्त्र जडान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमवार संसदमा बोल्दै दैलेख नेपालको चट्याङ बढी पर्ने जिल्लामध्ये एक भएको उल्लेख गर्दै चट्याङ लाग्ने निश्चित भौगोलिक क्षेत्रको अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार वर्षेनी दैलेखमा चट्याङ लागेर ४–५ जनाको मृत्यु र दर्जनौँ मानिस घाइते हुने गरेका छन् ।
गत वर्षको उदाहरण दिँदै सांसद रानाले चैत्र ८ गते दुल्लु नगरपालिका–६ मा १८ वर्षीय एसईई परीक्षार्थी गगन खड्काको चट्याङ लागेर मृत्यु भएको र चैत्र २० गते नौमुले गाउँपालिका–८ का ३१ वर्षीय दशरथ शाहीको चट्याङ लागी ज्यान गएको घटनाको स्मरण गराउनुभयो । दशरथसँगै उहाँकी २७ वर्षया श्रीमती विपना सिंह, ११ वर्षीया छोरी र तीन वर्षीय छोरा घाइते भएका थिए ।
भिडियाे हेर्न यहाँ Click गर्नुहोस ।
सांसद रानाले भन्नुभयो, 'दैलेखको केही निश्चित भूभागमा पटक–पटक चट्याङ पर्ने गरेको छ। यो किन त्यहाँ बढी पर्छ भन्ने वैज्ञानिक अध्ययन जरुरी छ। साथै, चट्याङको पूर्व सूचना दिने सेन्सरयुक्त यन्त्र जडान गरी स्थानीयलाई सुरक्षित राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।'
उहाँले चट्याङ पीडितलाई उचित राहत, उपचार तथा संरक्षणको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गर्नुभयो ।
त्यस्तै, उनले मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ पूर्वसूचना दिने यन्त्र जडान गरिएको जानकारी दिँदै दैलेख जस्तो उच्च जोखिमयुक्त क्षेत्रमा पनि त्यस्तै प्रविधि स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया