'तीनकुने घटनामा सरकारद्वारा मानवअधिकार उल्लङ्घन भयो'

'तीनकुने घटनामा सरकारद्वारा मानवअधिकार उल्लङ्घन भयो'

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तीनकुने घटनालाई लिएर सरकारमाथि गम्भीर मानवअधिकार उल्लङ्घनको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरुलाई बिना कारण ४० दिनसम्म थुनामा राखिएकोप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

“तीनकुने घटनामा मानवअधिकार संगठनहरूले नै उल्लङ्घन पुष्टि गरिसकेका छन्, तर राज्यले अझै पनि नेता कार्यकर्ताहरूलाई थुनिराखेको छ,” शाहीले भन्नुभयो ।

उहाँले घटनाको स्वतन्त्र न्यायिक छानबिनको माग गर्दै सरकारको दोहोरो चरित्रको आलोचना गर्नुभयो । “पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले दिनदहाडै गोली हानी सविन महर्जनलाई मारेको घटनामा भने किन छानबिन समिति बनाउँदैन ?” भन्दै शाहीले प्रश्न गर्नुभयो ।

उहाँले सत्ता पाएपछि गोली हान्न पाउने सोच खतरनाक भएको बताउँदै, भोलि राप्रपा पनि सत्तामा आउने चेतावनी समेत दिनुभयो । “यदि सत्ता पाएपछि गोली चलाउने अधिकार हुन्छ भन्ने हो भने, त्यो अवसर एक दिन हामी पनि पाउँछौं भन्ने चेतना राख,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया