कर्णालीका पूर्वाधार र जलविद्युत विकासमा पर्याप्त बजेट दिन सांसद पाण्डेको आग्रह

कर्णालीका पूर्वाधार र जलविद्युत विकासमा पर्याप्त बजेट दिन सांसद पाण्डेको आग्रह

काठमाडौँ –  प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले कर्णाली प्रदेशको भौतिक पूर्वाधार र ऊर्जा विकासका क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ  ।

संसदको विशेष समयमा बोल्दै सांसद पाण्डेले हालै सम्पन्न कर्णाली भ्रमणको अनुभव सुनाउँदै कर्णालीवासीले भोग्दै आएका दुःख, कष्ट र अप्ठ्याराहरू प्रत्यक्ष रुपमा बुझ्ने मौका पाएको उल्लेख गर्नुभयो ।

उहाँले सुर्खेतबाट सुरु भएर दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुको अन्तिम सीमाना नाक्चेलाग्नासम्म पुग्ने सडकले ठूलो जनसंख्यालाई सेवा पुर्‍याउने भएकाले यसको स्तरोन्नति अपरिहार्य भएको बताउनुभयो  ।

कर्णाली करिडोर अन्तर्गत पर्ने कालिकोट–मुगु–हुम्ला–हिल्सा सडक खण्डमा स्यार्पुनाथमा मोटरेबल पुलको अत्यावश्यकता औंल्याउँदै उनले उक्त स्थानमा तत्काल पुल निर्माणको पहल गर्न माग गर्नुभयो  ।

सांसद पाण्डेले मुगुको ताल्चा विमानस्थलको स्तरोन्नति र कालिकोटको सुनथराली विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने आवश्यकतालाई पनि जोड दिदै यसले दुर्गम क्षेत्रका नागरिकको आवागमन सहज बनाउने बताउनुभयो  ।

ऊर्जा क्षेत्रमा कर्णालीमा रहेका अपर कर्णाली, फुकोट कर्णाली, तिला–१ र तिला–२ जलविद्युत् आयोजना निर्माणमार्फत कर्णालीका मात्र होइन, सिंगो देशका जनताको जीवनस्तर उकास्न सकिने भएकाले सरकारले चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामै यिनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद पाण्डेले विकासका दृष्टिले पछाडि पारिएको कर्णालीमा अब ठूला पूर्वाधारका माध्यमबाट समावेशी र दिगो विकास सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया