परस्त्रीसँग सल्केका श्रीमानले गरे, आफ्नै श्रीमतिको ढुङ्गाले हानेर हत्या

परस्त्रीसँग सल्केका श्रीमानले  गरे, आफ्नै श्रीमतिको ढुङ्गाले हानेर हत्या

    सुर्खेत । परस्त्रीसँग सल्केका सुर्खेतको गुर्भाकोट नगरपालिका–५,का २९ वर्षीय दर्शन खत्रीले आफ्नै २६ वर्षीय श्रीमति प्रेमा ओलीको विभत्स  तरिकाले हत्या गरेका छन् ।

 पति खत्रीले ढुङ्गाले पछाडिबाट हानेर प्रेमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार शनिबार बेलुका भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलाका दर्शनले श्रीमतिको हत्या गरेर फालेका थिए ।

यद्यपि जङ्गलको बिचमा पर्ने खोलका भएकाले आइतबार बिहान १० बजेतिर मात्र स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

छिन्चु प्रहरीले लगत्तै घटना स्थलमा रेखाङ्कन गरी अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा श्रीमानमाथि नै शङ्का बढेपछि दर्शनलाई आइतबार बेलुका नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । प्रहरीसँगको बयानका क्रममा दर्शनले आफुले नै हत्या गरेको स्वीकारे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार दर्शनले ढुङ्गाले हानेर हत्या गरी आत्महत्या गरेको जस्तो बनाउन प्रेमाकै सलले घाँटी बेरेर खोल्सामा फालेका थिए ।

७ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको अहिले पाँच वर्षको छोरी छ । विवाह पछिनै दर्शन नेपाली सेनामा भर्ति भएका थिए । त्यसपछि उनी परस्त्रीसँग लाग्न थाले । उक्त कुरा श्रीमति प्रेमाले थाह पाएपछि परिवारमा कलह निम्तिन थाल्यो ।

‘पाँच वर्षदेखि उनीहरुबिच झै–झगडा हुने रहेछ, बिचमा विदामा घर आउँदा पनि कलह मात्र हुने रहेछ,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भन्नुभयो, ‘केटाको त अन्य केटीहरु पनि रहेछन् ।’

हाल वीरदल गण पाँचथरमा कार्यरत दर्शन शनिबार विदामा घर आएका थिए । उनले श्रीमतिलाई सँग लिन रत्न राजमार्ग अन्तर्गत पर्ने छिन्चु बजार बोलाए । प्रेमा पनि त्यहाँ पुग्नुभयो । 
सुरुमा राम्रै कुराकानी भएपनि विस्तारै झगडा हुन थालेको थियो । त्यसपछि दर्शनले नजिकैको जङ्गलतिर जाउँ भनेको र त्यहीँ हत्या गरेको प्रहरीले जनाएको छ ।अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ भने प्रेमाको शव कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।

प्रतिक्रिया