‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ सम्पन्न

‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ सम्पन्न

काठमाडौँ –  दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गत ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ रारा तालमा सम्पन्न भएको छ। समिटमा चलचित्र, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनका विविध आयाममाथि गहन बहस र छलफलहरू सम्पन्न भए 

समारोहको प्रमुख अतिथि जिल्ला समन्वय समिति मुगुका प्रमुख मनजन बहादुर कार्की थिए । कार्यक्रमको विशेष आतिथ्यमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायत रहनुभएको थियो ।

चलचित्र, पर्यटन र जलवायु परिवर्तन सम्बन्धी दुई सत्रमा विभाजित समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार तथा चलचित्रमार्फत कर्णालीको अन्तर्राष्ट्रिय पहिचानबारे विस्तृत छलफल भएको महोत्सव निर्देशक चक्र बहादुर चन्दले जानकारी दिनुभयो ।

महोत्सवका सद्भावना दूत समेत रहेका अभिनेता प्रदीप खड्काले रारा ताल क्षेत्रलाई विश्वस्तरीय छायाङ्कन गन्तव्यका रूपमा चिनाउने प्रयासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।  उहाँले ‘प्रेमगीत २’ को छायाङ्कन अनुभव स्मरण गर्दै रारा तथा कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा चलचित्रको प्रभावकारी योगदानको चर्चा गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनले कर्णाली लगायतका क्षेत्रहरूमा पारेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै यसबारे जनचेतना अभिवृद्धि र क्षतिको क्षतिपूर्तिको मागका लागि कर्णालीवासीको संगठित आवाज आवश्यक रहेको उल्लेख गर्नुभयो । खड्काले आफ्नो नयाँ चलचित्र ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमा छायाङ्कन गर्ने योजना सार्वजनिक गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले कर्णालीमा चलचित्रको सम्भावना उजागर गरेको बताउँदै बलिउडका प्रभावशाली व्यक्तिहरूलाई रारामा आमन्त्रण गरी चलचित्र छायाङ्कन गराउने योजना रहेको जानकारी दिनुभयो । कर्णालीका विभिन्न भू–भागलाई खुला स्टुडियोका रूपमा विकास गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले राराको अनुपम सौन्दर्य पहिलो पटक अनुभूत गरेको उल्लेख गर्दै कर्णालीका मौलिक कथाहरू पर्दामा उतार्ने प्रतिबद्धता जनाउनुभयो ।

रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भामले ‘प्रेमगीत २’ पछि राराको प्रचार–प्रसारमा उल्लेख्य वृद्धि भएको भन्दै यस्ता गतिविधिलाई नीति बनाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले चलचित्र र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाहीसहित विभिन्न वडाध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा उहाँहरूले यस्ता समिटहरूले कर्णालीका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याएको उल्लेख गर्दै सहकार्यका लागि प्रतिबद्धता जनाउनुभएको थियो ।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीलाई केन्द्रमा राखेर चलचित्रका माध्यमबाट स्थानीय सम्भावना उजागर गर्ने अभियानस्वरूप महोत्सव सञ्चालन भइरहेको बताउनुभयो । सल्लाहकार डा। महेन्द्र कुमार मल्लले कर्णालीमा चेतनाको जागरण भइरहेको उल्लेख गर्दै महोत्सवले यो अभियानलाई अझ सशक्त बनाउने धारणा व्यक्त गर्नुभयो ।

यसअघि सुर्खेत र दैलेखमा सम्पन्न महोत्सवको समापन तथा अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित सञ्चालन गरिएको महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य लिएको चक्रहादुर चन्दे जानकारी दिनुभयो ।

प्रतिक्रिया