जुम्लामा असिनापानीले स्याउसहित अन्नबालीमा क्षति

जुम्लामा असिनापानीले स्याउसहित अन्नबालीमा क्षति

 जुम्ला –  जुम्लाको गुठीचौर गाउँपालिका लगायतका क्षेत्रहरूमा वैशाख १७ गते राति परेको असिनासहितको वर्षाले यहाँको मुख्य नगदेबाली स्याउमा ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी गुठीचौर–३, मुडरीगाउँ, कोल्ते र गुठीगाउँ क्षेत्रका बगैँचामा स्याउका बिरुवामा व्यापक असर परेको छ।

स्याउ किसान दीपक बुढाका अनुसार, स्याउमा चिचिला लाग्ने महत्वपूर्ण समयमा परेको असिनाले बिरुवाका पात झार्ने मात्र होइन, रूखको टाकुरा समेत देखिने गरी क्षति पुर्‍याएको छ। “अहिले स्याउको मौसमी समय हो, यही बेला यस्तो असिना पर्‍यो भने पूरै बोटको उत्पादन चकनाचुर हुन्छ,” उहाँले भन्नुभयो ।

जिल्लामा हाल ४ हजार २५० हेक्टर क्षेत्रमा स्याउखेती हुँदै आएको छ, जहाँ झन्डै १६ हजार घरपरिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्भर छन् । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार, “गत वर्ष मात्रै जिल्लामा स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको थियो। अहिलेको असिनाले त्यसमा ठूलो झड्का पुर्‍याएको छ।”

स्थानीय किसान नुर्बु लामाले गत वर्ष स्याउ बिक्रीबाट आठ लाख रुपैयाँ आम्दानी गरेको बताउँदै यस वर्ष पनि राम्रो उत्पादनको आशामा रहेको तर असिनाले त्यो आशामा कुठाराघात गरेको गुनासो गर्नुभयो । “हाम्रो वडामा मात्रै ९ घरपरिवारका स्याउ बगैँचामा क्षति पुगेको छ,” लामाले भन्नुभयो ।

गुठीचौर–२ मुडरीगाउँका वडाध्यक्ष दीपबहादुर ऐडीका अनुसार असिनाले स्याउसँगै गहुँ, जौँ, मकै, ओखर र अन्य बर्खे फलफूलमा समेत असर पारेको छ। “करीब ५५० घरपरिवारले लगाएको बाली क्षतिग्रस्त बनेको छ,” उहाँले भन्नुभयो। विशेषगरी गहुँ र जौँ जस्ता बाली भित्र्याउने समय भएकोले किसानहरू बढी चिन्तित छन्।

पछिल्लो वर्ष शिखर इन्स्योरेन्समार्फत स्याउ बालीको बीमा गरिएकोले केही हदसम्म राहत पुगेको भए पनि यस वर्ष बीमा नगरीएको कारण किसान थप मर्कामा परेका छन्।

कृषि कार्यालयका अनुसार, क्षतिको पूर्ण विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरी सङ्कलन भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार करीब १० लाख रुपैयाँ बराबरको स्याउमा क्षति पुगेको छ।

जुम्ला जिल्लाका लागि स्याउ मात्रै होइन, पर्यटन र नगदेबालीको मुख्य आधार पनि हो। यस्तो मौसमी विपद्ले किसानको मनोबल कमजोर पार्ने भन्दै स्थानीय तहले दीर्घकालीन समाधानको खाँचो औंल्याएका छन्।

प्रतिक्रिया