रीप गाउँका नागरिक जोखिम मोलेर काठको पुल तर्नुपर्ने बाध्यता

रीप गाउँका नागरिक जोखिम मोलेर काठको पुल तर्नुपर्ने बाध्यता

हुम्ला –  हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने रीप गाउँका स्थानीयवासीले कर्णाली नदीमा रहेको जीर्ण काठको पुल तरेर दैनिक वारपार गर्नुपर्ने बाध्यता भोगिरहेका छन् । खडिखेतस्थित उक्त काठको पुल झुण्डिएको अवस्थाबाट जोखिमपूर्ण रुपमा प्रयोग भइरहेकाले स्थानीयले झोलुङ्ग पुलको माग गरेका छन् ।

स्थानीय दिलिप कार्कीका अनुसार, उक्त काठको पुलबाट मात्रै गाउँपालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट तथा जिल्ला बाहिर जानुपर्ने भएकाले बालबालिका, वृद्धवृद्धा, र बिरामीहरू विशेष मारमा परिरहेका छन् । 'गाउँमा आवश्यक सामग्री-सिमेन्ट, रड, ग्यास सिलिण्डर, खाद्यान्न, साबुनजस्ता उपभोग्य वस्तु-पनि यही काठको पुलमार्फत जोखिम मोलेर ल्याउनुपरेको छ,' उहाँले भन्नुभयो, 'धेरै गारो छ, भारी सामान त झन् ल्याउनै सकिन्न ।'

खडिखेतको पुलबाट एकैपटक दुई–तीन जना तर्न समेत नसक्ने अवस्था रहेको भन्दै पालो कुर्दै एक–एक जना तर्नुपर्ने बाध्यता रहेको कार्कीले बताउनुभयो । पुलको एक भाग हाल झुण्डिएको अवस्थामा रहेको र वर्षायाममा बाढी आउँदा पुल बगाएर लग्ने घटना पटक–पटक दोहोरिएको स्थानीयको भनाइ छ।

स्थानीय श्री फडेरेका अनुसार, हिउँदमा पानीको बहाव कम हुँदा पुल पुनः निर्माण गरेर प्रयोग गरिने भए पनि वर्षायाममा पुल बगाएपछि तुइनमार्फत नदी पार गर्नुपरेको अवस्था रहेको छ। “खडिखेतमा स्थायी झोलुङ्ग पुल अत्यावश्यक भइसकेको छ,” उहाँले माग गर्नुभयो।

आधारभूत भौतिक पूर्वाधारमा स्थानीय सरकार र वडा जनप्रतिनिधिहरूको ध्यान नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्। उनीहरूका अनुसार, कम्तीमा गाउँपालिका केन्द्रसम्म सहज पहुँच हुने गरी सुरक्षित संरचना निर्माण हुन जरुरी छ।

प्रतिक्रिया