ठाटीकाँध बजार क्षेत्रमा सडक कालोपत्रे कार्य तीव्र

ठाटीकाँध बजार क्षेत्रमा सडक कालोपत्रे कार्य तीव्र

ठाटीकाँध –  ठाटीकाँध गाउँपालिकाको केन्द्र रहेको ठाटीकाँध बजार क्षेत्रमा सडक कालोपत्रे कार्य तीव्र रुपमा अगाडि बढेको छ। आर्थिक वर्ष २०७९÷८० मा विनियोजित बजेट अन्तर्गत करिब १ किलोमिटर सडक कालोपत्रे गरिने कार्य अहिले अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायका अनुसार प्रहरी चौकी ठाटीकाँधदेखि अधिकारी थानसम्मको सडक कालोपत्रे कार्य संघीय समपूरक र पालिकाको साझेदारीमा अघि बढाइएको बताउनुभयो । सो परियोजनाको लागत ३ करोड ८० लाख रुपैयाँ रहेकोमा ३ करोड ५६ लाख २४ हजार ७१९ रुपैयाँमा विराट ज्वाला जेभी सुर्खेतसँग ठेक्का सम्झौता गरिएको थियो ।

 कालोपत्रेसँगै सडकको मेसिनरीवाल, ग्याभिन (ढुङ्गा जाली संरचना) तथा नाला निर्माण पनि समावेश गरिएको पालिका सव इन्जिनियर लवबहादुर सिजापतीले जानकारी दिनुभयो  उहाँका अनुसार हालसम्म कालोपत्रे गर्ने सडकको २५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै उहाँले आगामी असार १५ गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

इन्जिनियर कठायतका अनुसार यो परियोजना चरणबद्धरूपमा (प्याकेज प्याकेजमा) सञ्चालन हुँदै आएको हो । आर्थिक वर्ष २०७९÷८० तथा २०८०÷८१ मा पनि सडक सुधारका विभिन्न कार्य-जस्तै नाला निर्माण, वाल लगाउने काम-गरिएको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ मा बाँकी रहेको नाला, सवग्रेट, सवबेस, बेस तथा कालोपत्रे कार्य पूर्ण रूपमा सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिपछि बजार क्षेत्रको पूर्वाधारमा गुणात्मक सुधार आउने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।  व्यवस्थित सडकले यातायात सुलभ बनाउनाका साथै व्यापार, पर्यटन तथा स्थानीय जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने गाउँपालिकाले विश्वास लिइएको छ।

प्रतिक्रिया