सेनाद्वारा जुम्लाको गोरुचौरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

सेनाद्वारा जुम्लाको गोरुचौरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

जुम्ला –   कनकासुन्दरी गाउँपालिका–६, गोरुचौरमा नेपाली सेनाले एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ, जसबाट ५५६ जना स्थानीयवासी लाभान्वित भएका छन् ।

सेनाको २४ नं गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सोमबार सम्पन्न शिविरमा स्त्रीरोग, दन्तरोग, बालरोग, तथा सामान्य रोग सम्बन्धी जाँच र उपचार गरिएको हो।

शिविरमा ३१९ जना महिला, १८४ जना पुरुष र ५३ जना बालबालिकाले सेवा लिएका थिए। सेनानी धिरज थापाको नेतृत्वमा सञ्चालित शिविरमा उपचारका साथसाथै निःशुल्क औषधि वितरणसमेत गरिएको थियो ।

शिविर कनकासुन्दरी, सिञ्जा, हिमा, तातोपानी, तिला गाउँपालिका तथा मुगुको खत्याड गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर सञ्चालन गरिएको हो।

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले दुर्गम क्षेत्रमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा नेपाली सेनालाई धन्यवाद व्यक्त गर्नुभयो । सेनाले नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ।

यस्तो किसिमको सेवा निरन्तर गरिनुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया