रीप गाउँका बासिन्दा जीर्ण काठेपुलबाट आवतजावत गर्न बाध्य

हुम्ला - सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयहरू जीर्ण काठेपुलमार्फत खडिखेतको कर्णाली नदी वारपार गर्न बाध्य छन्। सर्केगाड गाउँपालिका र कर्णाली प्रदेश सरकारको बेवास्ताले स्थायी संरचना निर्माण हुन नसक्दा वर्षौँदेखि स्थानीय जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ।
स्थानीय दिलिप कार्कीका अनुसार दैनिक उपभोग्य सामग्रीदेखि सिमेन्ट, सरीया, ग्यास सिलिन्डरसम्म उक्त कमजोर काठेपुलबाट बोकेर ल्याउनु पर्ने बाध्यता रहेको छ। पुल यति जीर्ण भइसकेको छ कि एक पटकमा दुईभन्दा बढी व्यक्ति तर्न सक्दैनन्, पालो कुरेर मात्र वारपार गर्न सकिने अवस्था छ।
बालबालिका, वृद्धवृद्धा र बिरामीहरू विशेष मारमा परेको स्थानीय श्री फडेराले बताउनुभयो । वर्षायाममा काठको पुल बगाउँदा तुइनको सहारामा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। हिउँद याममा पानी कम हुँदा स्थानीय आफैँले काठको पुल पुनः निर्माण गरी प्रयोग गर्दै आएका छन्।
प्रदेश सरकारले गत मंसिरमा खडिखेतमा बेलिब्रिज निर्माण गर्ने भन्दै डिपिआर तयार गराए पनि अहिलेसम्म कार्यान्वयन नभएको वडा अध्यक्ष सिद्ध कार्कीले बताउनुभयो । उहाँले गाउँपालिकाले समेत पुल निर्माणका लागि ठोस पहल नगरेको स्वीकार गर्दै तत्कालका लागि कम्तीमा झोलुङ्गे पुल भए पनि सहज हुने धारणा राख्नुभयो ।
स्थानीयहरू गाउँपालिकाको केन्द्रसम्म सुरक्षित पहुँच पुग्ने स्थायी संरचना निर्माणमा सम्बन्धित निकायको ध्यान जानुपर्ने माग गर्दै आएका छन्।
प्रतिक्रिया