याङ्चुकुनामा एक्साभेटरको बकेट चढेर चट्टानमा प्वाल खोप्दै मजदुर

हुम्ला – कर्णाली कोरिडोर अन्तर्गतको याङ्चुकुना क्षेत्रको अग्लो र कडा चट्टान विस्फोट गर्न एक्साभेटरको बकेटमा चढेर मजदुरहरू प्वाल खोप्न व्यस्त छन्।
गत चैत २५ गतेदेखि सुरू भएको सडक निर्माणका क्रममा अन्य विकल्प नदेखिएपछि मजदुरहरू जोखिम मोलेर एक्साभेटरको बकेट चढेर दैनिक दर्जनौँ प्वाल खोप्ने काम गरिरहेका छन् ।
स्थानीय मजदुर सुत्त नेपालीका अनुसार चट्टानको झन्डै १५ मिटर उचाइमा पुगेर ड्रिल मेसिनमार्फत प्वाल बनाइन्छ, जसका लागि एक मजदुर मेसिन समाउने र अर्का मजदुरले उनलाई समातेर सन्तुलन कायम गर्ने गर्छन्। यसरी दैनिक ५० भन्दा बढी प्वाल खोपिने गरिएको छ भने बिहान प्वाल बनाइने र दिउँसो विस्फोट गरिने कार्य तालिका तय गरिएको छ।
नेपाली सेना विकास निर्माण दलका गुल्मपति अमृत पराजुलीका अनुसार एक्साभेटरको बकेट प्रयोग गर्दा जोखिम कम हुनुका साथै समयको पनि बचत भइरहेको छ । यदि एक्साभेटर प्रयोग गर्न नसकिएको भए डोरीको सहायतामा चट्टान चढेर काम गर्नुपर्ने हुन्थ्यो, जसले गर्दा जोखिम थपिने थियो।
हाल नेपाली सेनाले भिगौडा र बोक्चे गौडाको खतरनाक चट्टानी भिरमा समेत यस्तै प्रविधिबाट विस्फोट गराउँदै ८ सय मिटर सडकको स्तरोन्नतिको काम गरिरहेको छ। यो कार्य आगामी असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको छ।
प्रतिक्रिया