प्रशासनिक सेवा सहज र पारदर्शी बनाइन्छ : प्रजिअ गैरे

दैलेख - दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारी वर्दीनाथ गैरेले जिल्लाको समग्र अवस्था बारे जानकारी लिनुभएको छ । सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएका गैरेले पत्रकारहरूसँग प्रत्यक्ष संवाद गर्दै जिल्लामा विद्यमान समस्या र चुनौतीबारे बुझ्नुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी गैरेले आउँदो मनसुनलाई ध्यानमा राख्दै विपद् व्यवस्थापनमा सबै निकायबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । विपद्का सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तथा सूचना प्रवाहमा सक्रियता जरुरी रहेको उहाँको भनाइ थियो ।
गैरेले कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई प्रभावकारी, उत्तरदायी र जनमैत्री बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सेवाग्राहीले सामना गर्नुपरेको झन्झटबारे जानकारी लिँदै उहाँले स्थानीय तहको सहजीकरण अभाव प्रमुख कारण रहेको औंल्याउनुभयो । “समन्वय र स्पष्ट कार्यविधिको कमीले सेवा प्रवाहमा असजिलो भएको छ, सुधारका लागि तत्काल पहल गरिनेछ,” उहाँले भन्नुभयो।
पत्रकारहरूको सुझावप्रति धन्यवाद व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी गैरेले पत्रकारिता क्षेत्रको रचनात्मक भूमिका शासन प्रणाली मजबुत बनाउने आधार भएको उल्लेख गर्नुभयो । प्रशासन, प्रहरी तथा अन्य सरकारी निकायहरूबीच समन्वयमार्फत सूचनाको सहज प्रवाह गराउँदै सुशासन प्रवर्द्धनमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।
यसअघि गैरेले कर्णाली प्रदेशका रुकुमपश्चिम, कालिकोट, लुम्बिनी प्रदेशको प्यूठान, बागमती प्रदेशको धादिङ लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। त्यस्तै, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिवको भूमिकामा समेत कार्यरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया