दैलेख उद्योग वाणिज्य संघको निर्वाचनमा हमाल–थापाबीच भिडन्त

दैलेख – दैलेख उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सुरु भएको निर्वाचन अहिले जिल्लामा चर्चा र चासोको विषय बनेको छ । सहमति र सहकार्यका थुप्रै प्रयास भए पनि पनि सहमति सम्भव नभएपछि संघको नेतृत्वका लागि दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुन लागेको हो ।
संघको १०औं अधिवेशन यही वैशाख २१ गते आइतबारदेखि सुरु भए पनि प्रारम्भिक चरणमा गणपुरक संख्या नपुगेका कारण अधिवेशन स्थगित भएको थियो । पछि वैशाख २४ गते बुधबारदेखि अधिवेशन पुनः सुरु गरिएको हो ।
निर्वाचनमा युवा व्यवसायी राजेस हमालको नेतृत्वमा बनेको प्यानल र पूर्व कार्यसमिति सदस्य नरेन्द्र थापाको नेतृत्वमा बनेको प्यानलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
हमाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गरेका छन् भने थापा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मैदानमा उत्रिएका छन् ।
निर्वाचन समितिका अनुसार संघमा कुल ६१३ मतदाता रहेका छन् । यस निर्वाचनमार्फत १ जना अध्यक्ष र १६ जना कार्यसमिति सदस्य चयन गरिनेछ ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर थापाका अनुसार मतदान वैशाख २५ गते बिहीबार बिहान ७ बजेदेखि सुरु हुने भनिए पनि साढे ९ बजेसम्म मतदान प्रक्रिया सुरु हुन सकेको थिएन । ढिलाइको कारण भने औपचारिक रुपमा स्पष्ट पारिएको छैन ।
मतदानको पूर्वसन्ध्यामा दुबै प्यानलका उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय देखिएका थिए । उम्मेदवारहरू व्यवसायीक हित, नविन नेतृत्व र संघको सुधारको नाममा मत मागिरहेका छन् ।
संघको आगामी नेतृत्वले व्यवसायीहरूको हित, सहुलियतपूर्ण ऋण, बजार विस्तार, युवा उद्यमशीलता प्रोत्साहन, लगानी मैत्री वातावरण जस्ता मुद्दा उठाउने अपेक्षा गरिएको छ। ११:३० सम्म १०५ मत खसेकाे छ ।
प्रतिक्रिया