'विपद् व्यवस्थापनमा रेडक्रस र पालिकाबीच सहकार्य आवश्यकता'

'विपद् व्यवस्थापनमा रेडक्रस र पालिकाबीच सहकार्य आवश्यकता'

दैलेख  – नेपाल रेडक्रस सोसाइटी दैलेखले ‘विश्व रेडक्रस दिवस २०२५’ को अवसरमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा स्थानीय तह, राजनीतिक दल र प्रशासनका प्रतिनिधिहरुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले ११ वटै पालिकामा रेडक्रसका कार्यक्रमहरू सशक्त र सक्रिय रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “विपद् जोखिम आकस्मिक र जतिखेर पनि हुन सक्ने भएकाले पूर्वतयारी, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनमा संलग्न संघसंस्थाबीच सहकार्य अपरिहार्य छ,” शाहीले धारणा राख्नुभयो ।

नेकपा समाजवादीका जिल्ला अध्यक्ष मयाराम अधिकारीले चट्याङ, बाढी, पहिरो जस्ता विपद्को जोखिम न्यूनीकरणका कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो । “रेडक्रसको सेवा शहरमा मात्रै सीमित नहोस्, गाउँ–बस्तीसम्म पुग्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।

नेकपा एमाले दैलेख अध्यक्ष सूर्य बहादुर शाहीले रेडक्रसले नीति कार्यक्रमका स्पष्ट कार्ययोजना बनाएर बस्तीसम्म पुग्नुपर्ने र सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले रेडक्रसलाई सबै दलको साझा संस्था मानेर राजनैतिक पूर्वाग्रहभन्दा माथि उठेर सेवा गर्नुपर्ने बताउनुभयो । “यो संस्थाले आपत्–विपत् र मानवीय संकटमा भूमिका खेलेको उदाहरणहरू धेरै छन्,” रेग्मीले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत गणेश कोइरालाले स्थानीय तहका नीति तथा योजनामा रेडक्रसका कार्यक्रम समाहित गर्नुपर्ने र समन्वयमा काम गर्दा मात्र प्रभाव देखिने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले विपद् व्यवस्थापन, उद्धार, स्वास्थ्य शिविर, रक्तदान लगायतका सेवामा रेडक्रसको विशिष्ट योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “संस्थालाई अझ सक्षम बनाउँदै पूर्वतयारी र तत्काल सेवा दिने क्षमतामा वृद्धि गर्नु जरुरी छ।”

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले आँखा स्वास्थ्य सेवामा रेडक्रससँगको सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै आँखा अस्पताल स्थापना आगामी प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रम अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी दैलेखका अध्यक्ष निर्जन कुमार खत्रीले रेडक्रसका कार्यक्रमहरू सबै ११ पालिकासँग सहकार्य, साथ र समन्वयमा प्रभावकारी रूपमा विस्तार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाल रेडक्रस सोसाइटी दैलेखद्वारा आर्थिक वर्ष २०८१र०८२ मा नारायण नगरपालिका आँखा उपचार केन्द्रबाट १० हजार २९५ जनाले नियमित सेवा प्राप्त गरेको नेपाल रेडक्रस सोसाइटी दैलेखका अध्यक्ष निर्जन कुमार खत्रीले जानकारी दिनुभयो  ।

उहाँका अनुसार माघ २०८१ मा आयोजित विशेष शिविरमा २८३ जनाको मोतिविन्दु शल्यक्रिया सम्पन्न भएको थियो । जिल्लाका ९ पालिकामा ३९ स्थानमा घुम्ती शिविर सञ्चालन गरी  हजार १५ जना लाभान्वित भएका छन् । त्यस्तै दुल्लु नगरपालिकामा निशुल्क आँखा शिविर सञ्चालन गरी २५८ जनाको मोतिविन्दु शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया