दैलेख फर्जी मत प्रकरण : एमाले नेता शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन

दैलेख फर्जी मत प्रकरण : एमाले नेता शाहीलाई पक्राउ गर्न प्रहरी परिचालन

दैलेख  –  दैलेख उद्योग वाणिज्य संघको निर्वाचनमा फर्जी मत खसेको आरोपमा नेकपा एमाले दैलेखका जिल्ला कमिटी सचिवालय सदस्य नरेन्द्रबहादुर शाहीमाथि अनुसन्धान थालिएको छ ।

शाहीले भगवतीमाई गाउँपालिका–४ मा दर्ता रहेको ‘शाही कृषि तथा पशुपंक्षी फर्म’को नाममा फर्जी मत हालेको आरोप लागेको हो । वास्तविक मतदाता नगेन्द्रबहादुर शाहीले आफू मतदान गर्न जाँदा मत पहिल्यै खसेको पाइएको भन्दै विरोध जनाएपछि फर्जी मत हालिएको खुलासा भएको हो ।

मतदान स्थलमा खटिएका प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार फर्जी मत हालिएको पुष्टि भएपछि शाहीलाई खोजी गर्न प्रहरी परिचालन गरिएको छ। ‘‘मतदाता विवरण र मत हाल्ने व्यक्तिबीच मेल नखाएपछि अनुसन्धान सुरु गरिएको हो,’’ उहाँले भन्नुभयो  ।

निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउने यो घटनापछि स्थानीय व्यापारी र संघका सदस्यहरूमा चासो र चिन्ता थपिएको छ । संघको निर्वाचन समितिले पनि घटनाको छानबिन भइरहेको जनाएको छ।

यता, नेकपा एमाले दैलेख जिल्ला कमिटीले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया