कर्णाली नदीमा नुहाउने क्रममा १६ वर्षीय किशोर बेपत्ता

सुर्खेत – कर्णाली नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१, कोटबाडाका १६ वर्षीय विराज विष्ट शुक्रबार दिउँसो कर्णाली नदीमा नुहाउँदा बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार विष्ट पचालझरना गाउँपालिका–८ स्थित चाटेबगरमा दिदीलाई भेट्न गएका थिए । सोही अवसरमा कर्णाली नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक बीरबहादुर सुनारले घटनाको पुष्टि गर्दै अहिले विष्टको खोजी कार्य तीव्र रुपमा चलिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बासिन्दा तथा तीनवटा प्रहरी युनिट उद्धार तथा खोजी कार्यमा परिचालित छन् ।
प्रहरीले घटनास्थलको निरीक्षण गर्दै नदी किनार आसपासका क्षेत्रमा खोजी कार्य तीव्र बनाएको छ। अहिलेसम्म किशोरको अवस्थाबारे थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया