सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गराउन निवेदन लेख्नै नपर्ने

दैलेख - सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दैलेखले अबदेखि निवेदन लेख्नै नपर्ने व्यवस्था लागू गरेको छ।
प्रशासनले आज एक जरुरी सूचना जारी गर्दै वडा कार्यालयको सिफारिस प्राप्त भएमा सोही आधारमा प्रशासनको हेल्प डेस्कबाटै सम्बन्धित कार्यहरू अगाडि बढाइने बताइएको छ । यसबारेमा प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले जानकारी दिदै भन्नुभयो, 'सेवाग्राहीलाई सजिलो होस् भन्ने हाम्रो प्राथमिकता हो। अब सामान्य प्रशासनिक कामका लागि निवेदन बोकेर धाउनु नपर्नेछ,' उहाँले भन्नुभयो।
प्रशासनले हाल नागरिकका स्वास्थ्य परीक्षण, गुनासो संकलन तथा समाधान लगायतका कार्यलाई समेत प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई जनमुखी बनाउँदै आएको छ ।
केही दिनअघि मात्र दैलेख आउनुभएका प्रमुख जिल्ला अधिकारी बर्दिनाथ गैह्रेको पहलमा यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । प्युठान, कालिकोट, रुकुम पश्चिम र धादिङ लगायतका जिल्लामा कार्यरत रहँदा उनले प्रशासनिक संरचनामा सुधार ल्याउने उल्लेखनीय काम गर्नुभएको थियो । गृह मन्त्रालयभित्रै उहाँको छवि एक स्वच्छ, निडर र परिणाममुखी प्रशासकको रूपमा चिनिन्छ ।
गैह्रेको नेतृत्वमा दैलेख जिल्ला प्रशासन कार्यालयले नयाँ सोच र कार्यशैली अवलम्बन गर्दै सेवाग्राही मैत्री वातावरण निर्माण गर्ने संकेत देखिएको छ।
प्रतिक्रिया