कर्णालीमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन–२०८२’ हुँदै

सुर्खेत - कर्णाली प्रदेशमा पहिलोपटक छोरीहरूको सशक्तीकरणका लागि विशेष कार्यक्रम ‘कर्णाली छोरी सम्मेलन–२०८२’ आयोजना हुने भएको छ ।
श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको सहकार्यमा वैशाख २७ देखि २९ गतेसम्म उक्त सम्मेलन सञ्चालन गरिने भएको हो ।
शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले सम्मेलनको औपचारिक जानकारी दिँदै भन्नुभयो, “कर्णालीका छोरीहरूलाई सशक्त, सचेत, सक्षम र आत्मनिर्भर बनाउन यो सम्मेलनले ठोस आधार तयार पार्नेछ।”
कटुवालका अनुसार यो सम्मेलन केवल औपचारिक कार्यक्रम मात्र नभई सामाजिक सन्देश बोकेको चेतनामूलक अभियान हो, जसले कर्णालीका छोरीहरूलाई आफ्नो पहिचान निर्माण गर्ने प्रेरणा दिनेछ ।
“कर्णालीका छोरीहरू आफैं कमजोर होइनन्, तर अधिकार र अवसरबाट वञ्चित हुँदा कमजोर देखिएका हुन् भन्ने यथार्थलाई उजागर गर्नु यस सम्मेलनको मूल ध्येय हो,” अध्यक्ष कटुवालले भननुभयो ।
तीनदिने सम्मेलनमा ‘छोरीका मनका कुरा’, प्रवचन, बहस तथा सिर्जनात्मक प्रस्तुतिहरू हुनेछन् । सहभागी छोरीहरूले आफ्ना अनुभव, संघर्ष र सपना प्रस्तुत गर्नेछन्, साथै सिर्जनशील प्रतिभाहरूलाई आफ्नो कला, सीप र क्षमता देखाउने प्लेटफर्म प्रदान गरिनेछ।
संवेदनशील प्रदेशको रूपमा चिनिने कर्णालीमा यस्तो प्रकारको सम्मेलन पहिलोपटक आयोजना हुन लागेकाले यसले सामाजिक चेतना जगाउन र नीति निर्माण तहमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया