दुल्लुमा खानेपानी योजनाको सार्वजनिक सुनुवाइ सम्पन्न
खानेपानी योजनाको प्रभावकारिता सुधारमा जोड
दैलेख - दुल्लु नगरपालिका वडा नं.- ११ मा सञ्चालित खानेपानी योजनाहरूको सुचारुपना सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। दुल्लु नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको साझेदारीमा आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भरत रिजालले खानेपानी जनताको पहिलो र मौलिक आवश्यकता भएको उल्लेख गर्दै सञ्चालनमा रहेका योजनाहरूलाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
नगर प्रमुख रिजालले भन्नुभयो, 'नयाँ योजना प्रारम्भ गर्नु महत्त्वपूर्ण हो, तर त्यसअघि वर्षौंदेखि सञ्चालित योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्नुपर्छ। पानी पिउन पाउनु प्रत्येक नागरिकको अधिकार हो ।
सुचारुपना सार्वजनिक सुनुवाइ कार्यक्रममा वडामा सञ्चालनमा रहेका ८ वटा पुराना र २ वटा नयाँ गरी १० वटा खानेपानी योजनाहरूको अवस्था, उपलब्धि र समस्याबारे जानकारी गराइएको थियो।
खानेपानी योजनाहरूको अवस्था
अलैचिवारि खानेपानी योजनामा ६० घरधुरीमध्ये हाल ४८ धाराहरू सञ्चालनमा रहेका छन् । सिमतोली लाफा योजनामा ३८ घरधुरीमध्ये २५ धारा मात्र सञ्चालनमा रहेको छन् भने मालति गंगा योजनामा ९२ मध्ये ७५ धारा सञ्चालनमा रहेको बताइएको छ । उपभोक्ता समिति अध्यक्ष रेशम बहादुर भण्डारीले पानीको मुहानमा पानीको मात्रा घट्दै गइरहेको प्रमुख समस्या रहेको बताउनुभयो । सैनिखोला योजनाअन्तर्गत ४६ धारामध्ये ४० धारा सञ्चालनमा छन् । सचिव राम बहादुर बिष्टले नियमित मर्मत सम्भार र अनुगमनको खाँचो रहेको बताउनुभयो ।
पाल्त सुनारबस्ती खानेपानी तथा सरसफाइ योजनामा ३८ धारामध्ये ३५ धारा सञ्चालनमा छन् । अध्यक्ष नन्द बहादुर सुनारले समितिको बैठक नियमित रूपमा हरेक महिनाको १८ गते बस्ने र सरसफाइ पनि निरन्तर गरिने जानकारी दिनुभयो ।
नयाँ योजनाहरू अन्तर्गत, सैनिखोला रावतटोल सिम खा.पा. योजनामा हाल ५१ धारा निर्माणका क्रममा छन् भने पैयाखोला तोराय योजना ६७ धारा सञ्चालनको अन्तिम चरणमा पुगेको बताइएको छ ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले उपभोक्ताहरू स्वयंसेवकका रूपमा मर्मत, सरसफाइ र व्यवस्थापनमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । “उपभोक्ताको नै स्वामित्व रहेको योजनामा उनीहरूकै श्रम र सहभागिता आवश्यक छ,” उहाँले भन्नुभयो।
त्यस्तै वडा नं. ११ का अध्यक्ष सुरेन्द्र जंग भण्डारीले सामाजिक विकासमा सबैको एकताबद्ध सहभागिता आवश्यक रहेको बताउँदै भन्नुभयो, “आफ्नो खानेपानीका विषयमा आफैँ लाग्नुपर्छ, तब मात्र दीगो समाधान सम्भव हुन्छ ।
१२ नं. वडा अध्यक्ष लिलाराम लम्सालले खानेपानीलाई प्राथमिक अधिकारको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “पानी मैले खानुपर्ने हो, त्यसैले मेरो जिम्मेवारी पनि हो भन्ने चेतना उपभोक्तामा आवश्यक छ।”
गुनासो समाधानका लागि ‘हेलो धारा’ सेवा
दुल्लु नगरपालिकामा रहेका खानेपानी योजनाको सुचारुपना तथा मर्मत सम्भारका लागि दुल्लु खानेपानी ब्यबस्थापन बोर्डको मातहतमा रहने गरि “हेल्लो धारा” परियोजना संचालनमा रहेको छ | खानेपानी योजनाको सुचारुपना तथा मर्मत सम्भार सम्बन्धि समस्या भएमा ९८५८०३०२६४ नम्बरमा फोन गरेर गुनासो तथा समस्या राख्न सकिने र तुरुन्तै समाधानको पहल हुने जानकारी कार्यक्रमका कार्यक्रम संयोजक बद्री लम्सालले जानकारी दिनु भयो ।
कार्यक्रम अध्यक्ष तथा वडा खानेपानी व्यवस्थापन समिति अध्यक्ष भद्र बहादुर पन्तले सामुदायिक श्रमदानको महत्त्व औंल्याउँदै भन्नुभयो, 'खानेपानी केवल सरकारको जिम्मा होइन, उपभोक्ताको पनि हो। हामी सबै मिलेर आफ्नो खानेपानी आफैँ व्यवस्थापन गर्नुपर्छ ।'
प्रतिक्रिया