दुई दशक पछि नेपथ्यले ल्यायो कर्णालीका छाइला

दुई दशक पछि नेपथ्यले ल्यायो कर्णालीका छाइला

काठमाडौँ –    लोकप्रिय लोक-रक ब्यान्ड नेपथ्यले कर्णालीको मौलिक भाका र सुसेली बोकेको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक गरेको छ। गायक अमृत गुरुङले दुई दशकभन्दा बढी समय कर्णाली भेगमा खोज, अनुभूति र सङ्कलन गरी तयार पारेको गीत शनिबार राजधानीमा आयोजित समारोहमार्फत सार्वजनिक गरिएको हो।

विशेष गरी सल्यान आसपास प्रचलित ‘टप्पा’ धुनमा आधारित यस गीतमा स्थानीय जनजीवनका भाव र प्रकृतिसँगको सम्बन्धलाई आधुनिक प्रस्तुति दिइएको छ। गीतको म्युजिक भिडियो प्रसिद्ध श्रव्यदृश्य सर्जक भूषण दाहालको निर्देशनमा निर्माण गरिएको हो, जसमा कर्णालीका दृश्य, लय र जीवनशैली झल्किन्छन्।

गायक गुरुङका अनुसार सन् २००१ मा डोल्पाबाट आएका अङ्गद हमाल र सङ्कलक लक्ष्मीकान्त उपाध्यायबाट पहिलोपटक यो गीत सुनेका थिए। सन् २००८ मा एकपटक रेकर्ड गरिए पनि चित्त नबुझी थन्काइएको यो गीतलाई उहाँले पुनः संकलन र परिमार्जन गरी मौलिकता थपेर नयाँ स्वरूप दिनुभएको हो ।

गीतमा स्थानीय जनजिब्रोका लाइनहरू समेट्न ‘टप्पा’ धुनका सीमितताबीच पनि गहिरो मेहनत गरिएको गुरुङले बताउनुभयो । ‘भेँडाको ऊनजस्तो’ एल्बमसँगै यस गीतको प्रारम्भिक रूप फेला परेको भए पनि अहिले मात्रै यसको औपचारिक सार्वजनिकता भएको हो ।

नेपालयका किरणकृष्ण श्रेष्ठले कर्णालीमै आधारित ‘सा कर्णाली’ जस्तै ‘कर्नालीका छाइला’ ले पनि दर्शक(स्रोतामा गहिरो छाप छाड्ने विश्वास व्यक्त गर्नुभयो । भिडियो केही दिनका लागि न्यूनतम शुल्क तिरेर मात्र हेर्न मिल्ने व्यवस्था गरिएको छ- नेपालभित्र न्यूनतम १० रुपैयाँ र विदेशमा एक डलर ।

उक्त समारोहमा वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ को सम्बन्धित अंश पनि प्रस्तुत गरिएको थियो, जसमा गायक गुरुङ र लेखक नारायण वाग्लेले गीतको प्रसंग उठाउनुभएको छ ।

प्रतिक्रिया