साझेदार संस्था टोलीद्वारा आधार परियोजना अनुगमन

साझेदार संस्था टोलीद्वारा आधार परियोजना अनुगमन

कालिकोट - कालिकोटको खाडाचक्र नगरपालिकामा सन्चालित आधार परियोजनाको स्थलगत अनुगमन गरिएको छ ।

 खाडाचक्र वडा नं १ मा एइआईएन लक्जेम्बर्गको साझेदार टोलीद्वारा अनुगम गरिएको हो । उक्त ठाउँमा महिला समूह, कृषि समूह र युवा क्लबमार्फत सञ्चालित कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्न टोलीले विभिन्न गतिविधिहरूको अवलोकन गरिएको थियो ।

पूजा मालिका महिला समूहकी सदस्य मुना देवकोटाले तरकारी व्यवसाय शुरु गरेपछि जीवन निर्वाह सहज भएको अनुभव सुनाउनुभयो  । उहाँले भन्नुभयो, “यस व्यवसायले हाम्रो आर्थिक अवस्था सुधार गरेको छ, अब घर खर्च चलाउन निकै सजिलो भएको छ ।”

पञ्चदेवल महिला समूहकी उपाध्यक्ष जसुले छाउपडी, बालविवाह, महिला हिंसा जस्ता सामाजिक कुप्रथाविरुद्ध संस्थाले गरेको सहयोगले समुदायमा ठूलो रूपान्तरण ल्याएको जानकारी दिनुभयो ।

त्यस्तै कोइराला गाउँ अगुवा कृषिसमूहकी अध्यक्ष सरिता बि.कले तरकारी खेतीमार्फत व्यवसायिक जीवनयापनमा सहयोग पुगेको बताउनुभयो  । अहिले उहाँले मासिक करिब १० हजार रुपैयाँ फाइदा हुने गरेको बताउनुभयो  ।

पहिले आफूहरू अगाडि सरेर बोल्न डराउने तर अहिले संघसंस्थामा गई बिउबिजनको माग गर्न सक्ने अवस्थामा पुगेको पञ्चदेवल महिला समूहकी सदस्य तथा स्वयंसेविका सुनिता बराल  बताउँनुहुन्छ ।
जनचेतना परिवर्तन युवा क्लबका सचिव उमेश विकले युवाहरूमाझ शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल हुने गरेको र विकास प्रक्रियामा पारदर्शिता अपनाइने जानकारी दिनुभयो  ।

विद्यालय, कृषि समूह र महिला समूहहरूमा आधार परियोजनाको योगदानले जीवनयापन सहज बनाउन सहयोग पुर्याएको खाडाचक्र नगरपालिका –१ का वडा अध्यक्ष धर्मराज ताम्राकारले खुशी व्यक्त गर्दै सोसेक लगायत साझेदार संस्थालाई धन्यवाद दिनुभयो । सोसेक नेपालले छाउपडी प्रथा, महिला हिंसा, छुवाछुत जस्ता सामाजिक कुरीतिहरूको न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

स्थलगत अनुगमनका क्रममा समूहहरू तथा सहभागीहरूले आगामी दिनमा कृषि सीपमूलक तालिम, बिउबिजन, सिँचाइ सुविधा, कृषि सामग्रीको व्यवस्था तथा बैठक तथा कार्यक्रम गर्न उपयुक्त हलको आवश्यक रहेको समेत बताएका छन् ।

प्रतिक्रिया