आमा (कविता)

आमा (कविता)

- प्रतिक्षा शाही ठकुरी

आमा,
तिमीले बोलेका ती मिठा झुठहरूको साक्षी बनेकी छु म।
"दाइ र तँमा कुनै फरक छैन" भन्ने तिम्रो स्वर,
तर समाजको ऐनाले मेरो अस्तित्वमै प्रश्न उठाउँछ—
झापडझैं हानिरहेछ मलाइ।

"शिर ठाडो बनाएर हिँड है, छोरी" भन्ने तिमी,
तर आजको समाज भन्छ-
"शिर ढाकेपछि मात्र निस्किनू घरबाहिर।"

आमा,
तिमीले जीवनका धेरै कुरा सिकायौ,
तर समाजका विसंगतिसँग लड्न भने सिकाइनौ ।
सायद तिमी पनि त्यही जालभित्र अल्झिएकी थियौ होला,
बाँधिएकी थियौ होला।
तर अब तिमी स्वतन्त्र छौ - खुला, निर्भीक ।

"आफ्नो विचार राख्न नडराऊ" भनेर प्रेरित गर्यौ मलाई,
तर तिम्रै आत्मगौरवमाथि उठेका प्रश्नबारे
कसरी केही भन्न भुल्यौ ?

"आफ्नो निर्णय आफैँ लिन सिक" भनी सिकायौ,
तर "नाईके भएर हिँड्छे" भन्ने समाजको दृष्टिकोण
र आत्मनिर्भर नारीप्रति राखिएको अविश्वास-
के तिमीले देखिनौ? कि नजरअन्दाज गर्यौ ?

आमा, कसरी भन्न सक्यौ —
"तँ अनुपम छेस्", "ठूलो सपना देख" ?
जबकि त्यही समाजमा म हुर्किए
जहाँ भनिन्छ -
"दाइलाइ एक कप चिया बनाएर मात्रै निस्क है ।"

किन बनायौ मलाई यति विवश, आमा ?

तिम्रो मौनताले मलाई लड्न त सिकायो,
तर डर लाग्छ -
कहीं तिम्रो त्यागलाई न्याय दिन नसकूँला कि ?
कहीं समाजसँग झुकूँला कि?
कहीं फेरि पनि
छोरी, बहिनी, बुहारी, काकी, माइती, पत्नीमै
सिमित भइहालूँला कि ?

तर...
तिमीले मलाई खुला आकाशमा उड्न सिकायौ,
आफ्नो लागि लड्न सक्ने साहस दिइरह्यौ ।
तिमीले मलाई चिनायौ -
"म कहाँ छु?" भन्ने प्रश्नको उत्तर खोज्न सिकायौ ।

धन्य छु, आमा -
तिमीप्रति ऋणी छु म ।

तर समाजसँग एउटा प्रश्न छ:
मेरो आमा जस्तै हजारौं आमाहरू,
चिया पकाएर, भाँडा माझेर,
सन्तान हुर्काएर,
त्यसपछि कार्यालय जाने ती आमाहरूलाई -
समाजले कहिले सम्मान गर्छ ?

प्रतिक्रिया