कर्णाली राजमार्गको रामाघाट–साई खण्ड बन्द, यस्तो छ बैकल्पिक रुट

कर्णाली राजमार्गको रामाघाट–साई खण्ड बन्द, यस्तो छ बैकल्पिक रुट


 दैलेख –  कर्णाली राजमार्गको दैलेखमा पर्ने रामाघाट–साई खण्डमा निर्माणमा समस्या भएको भन्दै सवारी आवागमन १५ दिनका लागि बन्द गरिएको छ । निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको सिस्नेदेखि साई खण्डमा निर्माणका क्रममा समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बैकल्पिक रुट दिएर सडक बन्द गरेको हो ।

कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ । रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साई निस्कनु पर्नेछ ।

रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक विग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ । यसअघि कालोपत्रे गरिएको सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिवगर र साई क्षेत्रमा निकै सास्ती भएपछि कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर काम थालेको हो ।

सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म सक्नेगरी बैकल्पिक रुट दिनु परेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले  जानकारी दिनुभयो  ।

‘दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो,’ भण्डारी भन्नुहुन्छ,, ‘निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।’

राजमार्ग जेठ ११ गतेसम्म दैनिक विहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुनेछ । लामो समयसम्म सवारी रोक्नुभन्दा बैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साई–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य राखेको भण्डारीबताउँनुहुन्छ  । जेभीले २०८३ असारमा सक्नेगरी पाली–रामाघाट १२ र सिस्ने–साई १२ गरी २४ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको आठ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिनुभयो  । बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म वेश विछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

सडक सहजता कर्णालीका हिमाली जिल्लामा पुगेपनि वर्षौं पहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको यात्रा पट्यारलाग्दो छ । राजमार्गको तल्लो डुंगेश्वर–पादुका–साई–खिड्कीज्यूला खण्डमा राजमार्ग नराम्ररी विगिएको छ । यसअघि गरि कालोपत्रे ठाउँ–ठाउँमा भत्किदा यात्रु र सावरी चालकले सास्ती खेप्नु परेको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली राजमार्ग सुधार्न पटक–पटक ठेक्का व्यवस्थापन गर्दै आएको छ । तर निर्माण व्यवसायीको समयमै काम नसकेर अलपत्र छाड्ने गरेपछि सास्तीको यात्रा गर्नुपर्ने अवस्था छ । -नेपाल कर्मबाट साभार 

प्रतिक्रिया