विना अनुमति तोकिएको मिति अगावै यार्सा संकलन गर्नेको लर्को

विना अनुमति तोकिएको मिति अगावै यार्सा संकलन गर्नेको लर्को

मुगु — मुगु जिल्लाको मुगुमकामारोङ् गाउँपालिकाअन्तर्गत पर्ने पाटन क्षेत्रमा यस वर्ष तोकिएको मिति अगावै यार्सागुम्बा संकलकहरूको भीड बढ्दै गएको छ।

गाउँपालिकाको निर्णय अनुसार हरेक वर्ष जेठ १० गतेपछि मात्रै यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश अनुमति दिइन्छ। तर, यस वर्ष नियमको उल्लंघन गर्दै सयौं संकलकहरू मिति नपुग्दै पाटन प्रवेश गरिसकेका छन्।

मुगुमकामारोङ्ख–१ का स्थानीय कार्मा लामाका अनुसार, दैनिक दुई सयभन्दा बढी व्यक्ति-स्थानीय र बाह्य जिल्ला दुवैबाट—रातारात पाटन प्रवेश गरी यार्सागुम्बा संकलनमा संलग्न भइरहेका छन्।

अवैध प्रवेशका बारेमा सूचना प्राप्त भएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवाला निकायबीच आपतकालीन बैठक बसेको छ। बैठकमा पाटन प्रवेशको नियम उल्लंघन गर्नेहरूमाथि कडा जरिवाना र कानुनी कारबाही गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

गएको वर्ष यार्सागुम्बा संकलनबाट गाउँपालिकाले ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्ष त्यसभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष छिरिङ लामाले बताए । तर, पछिल्ला केही वर्ष यार्सागुम्बाको उत्पादनमा गिरावट आएको स्थानीयको भनाइ छ, जसले गर्दा यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै गएको छ।

यार्सागुम्बा संकलनलाई व्यवस्थित र पारदर्शी बनाउन गाउँपालिकाले अनुमति प्रणालीलाई थप कडाइका साथ लागू गर्ने जनाएको छ। 

प्रतिक्रिया