जनता आधारभूत विद्यालयद्वारा भर्ना अभियान

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकामा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ । आइतवार जनता आधारभूत विद्यालय, पिपलचौतारा ठाटिकाँध–२ मा भर्ना अभियान संचालन गरिएको हो ।
विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, अभिभावकहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागितामा उक्त अभियान विद्यालयदेखि समुदायसम्म पुगेर सम्पन्न गरिएको हो ।
कार्यक्रम संचालनको क्रममा समुदायमा पुग्दा अभिभावकहरूले शिक्षा प्रति आफ्ना विचारहरू व्यक्त गरेका थिए । उनीहरूले विगतमा अवसर नपाएकाले शिक्षाबाट वञ्चित हुनु परेको बताउँदै अहिलेका नयाँ पुस्ताले भने पढ्न पाउनुपर्ने बताएका थिए ।
अभिभावक प्रदीप नेपालीले भन्नुभयो, “पहिला त धेरै कुरा नबुझेर काला पहाडतिर लाग्ने गरेका थियौं, तर अहिले भने सबैभन्दा पहिला शिक्षा चाहिन्छ भन्ने बुझिसकेका छौँ ।”
पुरुषहरू जीविकोपार्जनका लागि बाहिर जान्छन, तर महिलाहरू र बालबालिकाहरू घरमै बस्नुपर्छ । अब हामीले आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्नका लागि शिक्षालाई पहिलो प्राथमिकता दिएको अर्की अभिभावक लालसरी बिकको भनाई छ ।
सोही ठाउँकै अर्का अभिभावक दिलबहादुर बिकले आफ्नो अनुभव साझा गर्दै भन्नुभयो, “हामीले बाल्यकालमा शिक्षा नपाउँदा धेरै दुःख र कठिनाइ खेप्नुर्पयो। हामी चाहन्छौं कि हाम्रा सन्तानले त्यो पीडा नदेखून् ।”
आफ्नो समुदाय—दलित टोल—भित्र व्याप्त गरिबी र बेरोजगारीका कारण धेरै परिवारहरू गाउँ छोड्न बाध्य भएको यस्तै, गीता बिक र खजुरा नेपालीले बताउनुभयो ।
प्रतिक्रिया