साझेदार संस्था टोलीद्वारा जुम्लामा बिहानी परियोजनाको स्थलगत अनुगमन

जुम्ला - जुम्ला जिल्लामा सञ्चालित बिहानी परियोजनाको हालै स्थलगत गरिएको छ। चन्दननाथ नगरपालिका अन्तर्गत वडा नं. १, ४, ८ र ९ मा सञ्चालित कार्यक्रमहरूको साझेदार संस्था एइआइएन लक्जेम्बर्ग र सोसेक नेपालले निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा चन्दननाथ–९ स्थित गुरुदेव महिला समूहकी सदस्य ढुन्का सार्कीले गरिब, दलित तथा पिछडिएका समुदायमा परियोजनाको सकारात्मक प्रभाव देखिएको बताउनुभयो । उहाँले सामाजिक विकृति–विसंगति, विशेषगरी छुवाछूत प्रथा अन्त्यतर्फ सोसेक नेपालले ठूलो योगदान दिएको उल्लेख गर्नुभयो ।
सोही समूहकी अध्यक्ष कमलादेवी सार्कीले परियोजनाअघि समुदायमा पुरुषहरूद्वारा धुम्रपान, घरेलु हिंसा, तथा बालविवाहजस्ता समस्याहरू रहेको स्मरण गर्दै, अहिले कृषि व्यवसायमार्फत जीविकोपार्जन सहज बनेको र बालबालिकाले विद्यालय जान थालेको बताउनुभयो ।
परियोजनाले आर्थिक रूपमा कमजोर समुदायलाई जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको जनाउँदै घरेलु हिंसा, जुवा–तास, मदिरा सेवन र छुवाछूत प्रथा न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको वडा नं. ९ का वडाध्यक्ष भीमबहादुर रावतको भनाई थियो ।
त्यस्तै चन्दननाथ–४ सिगाचौरकी हरिदेवी नेपालीले बालविवाह तथा छुवाछूत प्रथा न्यूनीकरणमा परियोजनाले योगदान पुर्याएको धारणा राख्नुभयो । त्यस्तै, हरिकन्या नेपालीले कृषि विषादी झोलामोल (१, २, ३) बनाउने तालिम प्राप्त गरेपछि कृषि क्षेत्रमा उल्लेखनीय सहयोग भएको बताउनुभयो । उहाँले महिलाहरूमा बोल्ने सीप र आत्मविश्वास बढेको महसुस भएको जनाउनुभयो ।
देउती समूहका सदस्यहरूले आगामी दिनमा बेमौसमी तरकारी उत्पादनका लागि प्लास्टिक टनेल, ढाका बुन्ने तालिम, सिलाइ–कटाइ तथा क्षमता विकास तालिमको आवश्यकता औंल्याउनुभयो ।
चन्दननाथ–१ स्थित परिवर्तन समूहकी अध्यक्ष कविता नेपालीले वालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा लगायत सामाजिक कुरीतिहरूको न्यूनीकरणमा परियोजनाको योगदान रहेको बताउनुभयो । दलित महिलाहरू शिक्षित भएपछि हिंसामा उल्लेखनीय गिरावट आएको र बालबालिकालाई विद्यालय जान प्रोत्साहन गरिएको उनले उल्लेख गर्नुभयो ।
दलित महिला सदस्य कुइरी कुलालले आगामी दिनमा समूहहरूमा सिलाई–कटाई तालिम, कृषि औजार तथा सिँचाइ उपकरणको आवश्यकता रहेको जनाउनुभयो ।
त्यस्तै, चन्दननाथ–८ स्थित राजीवन भुवन समूहकी जयलक्ष्मी बोहराले अगरबत्ती उत्पादन तालिममार्फत महिलाहरूको जीविकोपार्जनमा उल्लेखनीय सुधार आएको जानकारी दिनुभयो ।
परियोजनाबारे सहभागीहरूको अनुभव
परियोजनाले महिलाहरूमा आत्मविश्वास तथा अभिव्यक्ति गर्ने सीप विकास गर्न सहयोग पुगेको सहभागीहरूले बताएका थिए । आर्थिक रूपमा कमजोर अवस्थाबाट कृषि व्यवसायमार्फत आयस्रोत बढाइ बालबालिकाको शिक्षामा समेत सहयोग पुगेको उनीहरूको अनुभव छ।
गुरुदेव महिला समूहकी अध्यक्ष कमलादेवी सार्कीले परियोजनापछि पनि समूहले कृषि व्यवसायलाई निरन्तरता दिन प्रयत्न गर्ने बताउनुभयो । सम्भावित रोग किरा तथा अन्य समस्याहरूमा स्थानीय तहसँग सहकार्य गर्दै समाधान खोज्ने योजनाबद्धता रहेको उहाँको भनाइ छ।
प्रतिक्रिया