सिराडीमा एकदिने एकीकृत शत्रुजीव व्यवस्थापन तालिम सम्पन्न

ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा एकदिने एकीकृत शत्रुजीव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । कृषिमा दीर्घकालीन र वातावरणमैत्री उपायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ठाटीकाँध गाउँपालिकामा एकदिने एकीकृत शत्रुजीव व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
एइआइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय, सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा संचालन गरिएको थियो ।
तालिममा स्थानीय महिला समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा सहभागीहरूलाई ५० लिटर क्षमताका ३२ वटा ड्रम वितरण गरिएको थियो, जसको प्रयोग घरेलु जैविक विषादी बनाउन र संरक्षण कृषि प्रविधिमा गर्न सकिने बताइएको छ ।
तालिममा घरेलु स्रोतसाधनकै भरमा तयार गर्न सकिने विषादी निर्माणका विधिहरू सिकाइएको थियो । बजारमा पाइने रासायनिक विषादी प्रयोग गर्दा हुने मानव स्वास्थ्य र वातावरणमा पर्ने असरको विकल्पस्वरूप घरेलु जैविक विषादी प्रयोग गर्न प्रेरित गरिएको बताइएको छ ।
तालिममा सहभागी सिराडीकी कोकिला बुढाले भन्नुभयो, “अब हामी बजारको विषादीमा भर नपरी आफैं गाउँमै बनाइने जैविक विषादी प्रयोग गर्छौं । तालिमले हामीलाई नयाँ ज्ञान र हौसला दियो ।” भद्रा बुढाले पनि तालिमपछि गाउँमा पाइने जडीबुटी तथा वनस्पतिको उपयोग गरेर विषादी बनाउन सकिने जानकारी पाउँदा उत्साहित भएको बताउनुभयो ।
प्रतिक्रिया