दैलेखको रामाघाट-साई सडक खण्ड १५ दिनका लागि बन्द

दैलेखको रामाघाट-साई सडक खण्ड १५ दिनका लागि बन्द

सुर्खेत –   कर्णाली राजमार्गअन्तर्गत दैलेखको रामाघाट–साई सडक खण्डमा निर्माण कार्य अवरुद्ध भएपछि सो खण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। निर्माण कार्यमा सवारी चापले बाधा पुर्‍याएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै सडक १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।

सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीका अनुसार, सडक निर्माणलाई गति दिन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जेठ ११ गतेसम्म बिहान ८ देखि १२ बजेसम्म र दिउँसो २ देखि साँझ ६ बजेसम्म सडक बन्द रहनेछ। यस अवधिमा रामाघाट बजारदेखि मध्यपहाडी लोकमार्गको सात्तला हुँदै साई पुग्ने वैकल्पिक रुट प्रयोग गर्न सवारी साधनहरूलाई आग्रह गरिएको छ ।

झण्डै १८ किलोमिटरको रामाघाट–साई खण्डको सडक विग्रिएपछि २०७९ मा कालोपत्रे गरिए पनि पुनः बिग्रिएर खाल्डाखुल्डीले यात्रुलाई सास्ती हुने अवस्था आएको थियो। त्यसपछि २०८१ चैतमा कार्यालय खड्का केएसके–शिशिर बसन्त जेभीसँग २४ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार पालि–रामाघाट १२ र सिस्ने–साई १२ गरी २४ किलोमिटर सडक सुधार र कालोपत्रे गर्ने लक्ष्य लिइएको छ ।

जेभीले असारसम्म वेस विछ्याएर भदौमा कालोपत्रे सक्ने गरी काम गरिरहेको भए पनि दैनिक सवारी चापले निर्माणमा अवरोध पुर्‍याउँदै आएको छ । भण्डारीका अनुसार, वर्षात अघि सडक सुधार गरेर कर्णालीका हिमाली जिल्लाहरूमा सहज यातायात व्यवस्था मिलाउने उद्देश्यले यो निर्णय लिइएको हो ।

कर्णाली राजमार्गकै तल्लो डुंगेश्वर–पादुका–साई–खिड्कीज्यूला खण्डमा समेत सडक अवस्था जिर्ण बनेको छ। पटक–पटक ठेक्का व्यवस्थापन गर्दा पनि निर्माण कम्पनीहरूले समयमै काम नसक्दा यात्रु तथा सवारी चालकहरूलाई निरन्तर सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया