भैरवीमा अभिभावक क्षमता विकास अभिमुखीकरण कार्यक्रम संचालन

भैरवी – दैलेखको भैरवी गाउँपालिकामा महिला, युवा, बाल क्लब र अभिभावकबीच अभिभावक क्षमता विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
एईआइएन लक्जेमबर्गको साझेदारी, भैरवी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाको आयोजनामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । पञ्चकोशी आमा समूहकी अध्यक्ष डल्ली बिकको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममार्फत सहभागी महिला, युवती, बाल क्लबका प्रतिनिधि र अभिभावकहरूलाई घरभित्र सकारात्मक वातावरण सिर्जना गर्ने उपाय, बालमैत्री व्यवहार, संवाद र अनुशासनका व्यवहारिक सीपहरूबारे बताइएको आधार परियोजनाले जनाएको छ ।
कार्यक्रममा सहभागिता जनाएका अभिभावक महिलाहरूले आफ्ना बालबालिकाको समग्र विकासका लागि आफूहरूको भूमिकाबारे जानकारी प्राप्त भएको बताउँदै, यस्ता कार्यक्रमले व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पञ्चकोशी आमा समूहकी अध्यक्ष डल्ली बिकले कार्यक्रमले समुदायमा अभिभावकत्वप्रति चेतना जागृत गराएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया