'कृषि जैविक विविधता  संरक्षण र प्रवर्द्धनका कार्यहरू अघि बढाउन आवश्यक'

'कृषि जैविक विविधता  संरक्षण र प्रवर्द्धनका कार्यहरू अघि बढाउन आवश्यक'

काठमाडौँ –   प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले कृषि जैविक विविधता  संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार संसदमा बोल्दै सांसद रानाले नेपालबाट झण्डै ४० प्रतिशत कृषि जैविक विविधता नष्ट भइसकेको गम्भीर परिस्थितिमा अब ढिला नगरी संरक्षण र प्रवर्धनका कार्यहरू अघि बढाउन आवश्यक रहेको बताउनुभएको हो ।

 कृषि जैविक विविधताको संरक्षणका लागि बाली, घाँसेबाली, पशुपंक्षी, कृषि किरा, कृषि सूक्ष्म जीवाणु तथा जलीय आनुवंशिक स्रोतसम्बन्धी छ वटै सम्भागहरूमा ध्यान केन्द्रित गर्नु अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “रैथाने कृषि आनुवंशिक स्रोतको संरक्षण र प्रवर्धन गर्नका लागि राष्ट्रिय गौरवको आयोजना संचालन गर्न जरुरी छ ।”

उहाँले शैक्षिक संस्थाहरूको पाठ्यक्रममा स्थानीय कृषि जैविक संरक्षणसम्बन्धी विषयहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउँदै, विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै रैथाने खाजाको अवधारणा तत्काल लागू गर्नुपर्ने बताउनुभयो ।

 नेपालको कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन भौगोलिक संकेतको नीति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “कोदोको रक्सी, अकबरे खुर्सानी, मार्सी धान, सिमी, दैलेखको गुडे चामल र आलुजस्ता विशिष्ट कृषि उत्पादनहरूमा भौगोलिक संकेत प्रयोगका लागि नीतिगत व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।”

स्थानीय जैविक सम्पदाको संरक्षण मात्र नभई त्यसको व्यावसायिक प्रयोगमार्फत रोजगारी र समृद्धिको ढोका खोल्न सकिने उहाँको भनाई थियो ।

प्रतिक्रिया