प्रभात माध्यमिक विद्यालयमा अनुगमन
बालमैत्री पूर्वाधार र उद्यमशीलतालाई प्राथमिकता
सुर्खेत - बीरेन्द्रनगर नगरपालिका–२ स्थित प्रभात माध्यमिक विद्यालयमा हालै अनुगमन गरिएको छ । बालबालिकाको सिकाइ सहज बनाउने उद्देश्यले तालिम प्राप्त शिक्षकहरूले नयाँ पद्धतिमा पठनपाठन सुरु गरेसँगै शिक्षण प्रक्रिया प्रभावकारी बन्दै गएको छ।
हालसम्म विद्यालयमा ४० जना बालबालिका भर्ना भइसकेका छन् भने भर्ना प्रक्रिया अझै जारी छ। तीमध्ये एकजना अपांगता भएका बालक पनि बालविकास कक्षामा भर्ना भएका छन् । कक्षा १० की छात्रा पुष्पा नेपालीका अनुसार बिराज सुनारको सस्थाले गरेको सहयोगले विद्यालयमा उपलब्ध ह्वीलचेयरले पठनपाठनमा ठूलो सहयोग पुगेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गंगिसरा सारु मगरले कक्षा ६ देखि माथिका कक्षामा लैंगिक हिंसा, सुशासन तथा विद्यार्थीका हक–अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । साथै बालमैत्री शौचालय, खेलौना संकलन भवन, घेरबार र शैक्षिक सामग्रीको आवश्यकता रहेको उहाँको भनाइ छ।
विद्यालयमा सक्रिय बाल क्लबका अध्यक्ष गणेश बहादुर खड्काले विद्यालय र वडाका सामाजिक समस्या अवलोकन र न्युनिकरणमा क्लबको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । बाल क्लब हरेक महिनाको अन्तिम शनिबार नियमित बैठक बस्दै आएको छ।
शिक्षक डिल्लीराम चापागाईंका अनुसार विद्यालयमा लागू औषध दुर्व्यसन, लैंगिक हिंसा, महिनावारीको समयमा हुने हिंसा नियन्त्रण तथा काउन्सिलिङ कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ। साथै बालबालिकाका लागि सामग्री, स्कुल ड्रेस, झोला तथा लेखाइ क्षमताविकास तालिमले शिक्षण–अधिगममा सुधार ल्याएको बताउनुभयो ।
विद्यालयमा हाल कक्षा १ देखि ५ सम्मका लागि पाठशाला कर्नर स्थापना गरिएको छ भने इसिडी (अर्ली चाइल्डहुड डेभलपमेन्ट) कक्षा थप आवश्यक रहेको र विद्यालयको घेरबार निर्माणमा पहल भइरहेको छ। विद्यालयमा ६० प्रतिशत विद्यार्थी दलित समुदायका छन् भने ३७ जना विद्यार्थी अभिभावकविहीन छन् ।
स्थानीय महिला उद्यममा प्रगति
साथै चौधरी टोलका महिलाहरूले सञ्चालन गरेको उद्यममा समेत उल्लेखनीय प्रगति देखिएको छ। अध्यक्ष राधिका चौधरीका अनुसार अगरबत्ती तालिम लिएपछि पाँच जनाको टोलीले उत्पादन थाल्दै बजार व्यवस्थापनसमेत सुदृढ बनाएका छन्। मन्दिर तथा पूजामा आवश्यक अगरबत्ती घरदैलोमा पुर्याउने व्यवस्था गरिएको छ।
कृषि क्षेत्रमा च्याउखेती, बेमौसमी तरकारी तथा हाते ट्र्याक्टर र प्लास्टिक टनेलको माग बढेको छ। एकल लट च्याउ बिक्रीबाट १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको काली थारुले बताउनुभयो ।
वडाको सहकार्य र प्रतिबद्धता
वीरेन्द्रनगर नगरपालिका २ का वडा अध्यक्ष गज बहादुर बुढाका अनुसार खाली समयको सदुपयोग गर्दै उद्यममार्फत् जीविकोपार्जनमा सुधार आएको छ।
चौधरी समूहका लागि सिचाइ सुविधाका लागि वडा कार्यालयले प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । साथै बालविवाह नियन्त्रण, युवा कुलत न्यूनीकरण तथा सामाजिक सुधारका कार्यक्रमहरू वडाबाट निरन्तर रूपमा सञ्चालन भइरहेका छन् ।
त्यस्तै राउटे बस्तिमा पनि अनुगमन गरिएको छ । एइआईएन लक्जेम्बर्ग र सोसेक नेपालद्वारा अनुगमन गरिएको हो ।
प्रतिक्रिया