विनियोजन विधेयक सन्तुलित र समावेशी : सांसद राना

विनियोजन विधेयक सन्तुलित र समावेशी : सांसद राना

काठमाडौँ  –  प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत विनियोजन विधेयक सैद्धान्तिक रूपमा सन्तुलित र समावेशी रहेको बताउनुभएको छ । 

शुक्रवार संसदमा विधेयकमाथिको छलफलमा बोल्दै उहाँले मौलिक हक, समृद्ध नेपाल–सुखी नेपालीको लक्ष्य, व्यवसायमैत्री वातावरण, सामाजिक सुरक्षा र सुशासन जस्ता सिद्धान्त समेटिनु सकारात्मक पक्ष भएको बताउनुभयो । साथै उहाँले  विनियोजन विधेयक सैद्धान्तिक रूपमा सन्तुलित र समावेशी भएको र प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । 

रोजगारी, गरिबी निवारण, कृषि व्यवसायीकरण, विद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, संघीयता, सुशासनलगायत प्राथमिकता समावेश हुनु प्रशंसायोग्य भए पनि ती कागजमै सीमित नहोऊन् भन्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । विगतका कमजोरी दोहोरिन नदिन अनुगमन र मूल्याङ्कनलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो।

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै सांसद रानाले कर्णालीका सडक, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा ठोस कार्यक्रम ल्याउन, दैलेखका भूमिसम्बन्धी समस्या समाधान र पेट्रोलियम उत्खननलाई नियमित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “अब मुख्य कुरा यसको प्रभावकारी कार्यान्वयन र पारदर्शी अनुगमन हो,” उहाँले भन्नुभयो, “सरकारले त्यसमा विश्वास दिलाउनुपर्छ।”

प्रतिक्रिया