दैलेखमा कर्णालीका जडीबुटीसम्बन्धी आयुर्वेद अभिमुखीकरण सम्पन्न

दैलेखमा कर्णालीका जडीबुटीसम्बन्धी आयुर्वेद अभिमुखीकरण सम्पन्न

दैलेख –   कर्णाली प्रदेशको समृद्ध जडीबुटी स्रोतलाई परिचालन गर्ने उद्देश्यले दैलेखमा एकदिने आयुर्वेदिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश आयुर्वेदिक अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतको आयोजनामा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेखको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका जडीबुटीबारे जानकार स्थानीय सहभागि भएका थिए । अभिमुखीकरणमा जडीबुटीको पहिचान, संकलन, प्रशोधन र आयुर्वेदिक औषधिका रूपमा बजारसम्म पु¥याउने प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा वरिष्ठ कविराज निरीक्षक श्रीराम आचार्यले सहभागीहरूलाई जडीबुटी संकलन, प्रशोधन र औषधि निर्माणका व्यावहारिक पक्षमा प्रशिक्षण दिनुभएको थियो  । उहाँले स्थानीय जडीबुटी सम्पदाको वैज्ञानिक सदुपयोग गर्न सके कर्णाली प्रदेशले आन्तरिक औषधि उत्पादनमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताउनुभयो  ।

नारायण नगरपालिका–६ का सहभागी गुरुप्रसाद रेग्मीले कर्णाली प्रदेशमा प्रशस्त मात्रामा पाइने जडीबुटीको व्यावसायिक संकलन र प्रशोधन गर्न सरकारले आवश्यक तालिम र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
 
त्यस्तै, नौमुले गाउँपालिका–१ का मायाराम शर्माले परम्परागत वैद्यकीय पद्धतिमा आधारित आयुर्वेदिक औषधि मानव स्वास्थ्यका लागि प्रभावकारी भएको र अहिलेको रासायनिक औषधिको विकल्पका रूपमा प्रयोग हुन सक्ने सम्भावनामा जोड दिनुभयो । 'हाम्रा बाजे–बुवाले प्रयोग गर्दै आएका जडीबुटीको महत्व अहिले झन् बढेको छ, राज्यले यस क्षेत्रमा लगानी गरेमा जनस्वास्थ्यसँगै आर्थिक उन्नति पनि सम्भव छ,' उहाँले भन्नुभयो ।

कार्यक्रममा जडीबुटीको पहिचान, सुरक्षित संकलन विधि, भण्डारण प्रणाली र बजारसम्म पु¥याउने उपायहरूबारे छलफल गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेखका प्रमुख डा. यादव प्रसाद उपाध्यायले कर्णालीको जडीबुटी सम्भावना ठूलो भए पनि वैज्ञानिक पद्धतिमा यसको संकलन र प्रयोग नगरेसम्म यसको वास्तविक लाभ लिन नसकिने बताउनुभयो  ।

प्रतिक्रिया