क्रान्ति पूरा गर्न युवाजस्तै दौडिरहेको छु : प्रचण्ड

दैलेख – पुर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको बाँकी लक्ष्य पूरा गर्न आफू युवाजस्तै जोशका साथ अघि बढिरहेको बताउनुभएको छ ।
आइतबार दैलेख सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले परिवर्तनका उपलब्धिहरू मजदुर, किसान, दलित, जनजाति, महिला लगायतको त्याग, तपस्या र बलिदानबाट सम्भव भएको बताउनुभयो । उहाँले गणतन्त्र, समावेशिता, संघीयता लगायतका उपलब्धिहरू माओवादी आन्दोलनकै देन भएको स्पष्ट पार्नुभयो ।
वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्रति असन्तुष्टि जनाउँदै कर्णाली विकासका लागि अघिल्लो सरकारको कार्यकालमा ल्याइएको विशेष प्याकेज हटाइएको आरोप लगाउनुभयो । त्यस्तै, महिला, दलित, जनजाति, मधेश र तराईका पक्षमा ल्याइएका कार्यक्रमहरूलाई प्राथमिकतामा नराखिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
“माओवादी पार्टी बलियो भयो भने मात्र गरिब, मजदुर, किसान, दलित, असहाय जनताको पक्षमा बलियो आवाज उठ्छ,” उहाँले भन्नुभयो, “हामी फेरि जनताको काखमा फर्किने संकल्पसहित अघि बढिरहेका छौँ ।”
मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत दैलेखमा आयोजित उक्त जनसभामा पार्टीका वरिष्ठ नेतृ पम्फा भुसाल, केन्द्रीय सदस्य प्रेम कटुवाल, टेकबहादुर खाणलगायतले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई झाँकी, पञ्चेबाजा र सांस्कृतिक प्रस्तुतिले झनै आकर्षक बनाइएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान जेठ १ गते डडेलधुराबाट सुरु भई जेठ १० गते पोखरामा जनसभासहित समापन गरिनेछ । यसअघि माओवादी केन्द्रले तराई–मधेश केन्द्रित जनजागरण अभियान सम्पन्न गरिसकेको छ।
प्रतिक्रिया